हिन्दु धर्मअनुसार भद्रकाली देवी विभिन्न शक्तिपीठहरूमध्येको एक मानिन्छ । यो सिंहदरबार पश्चिमतिर टुँडिखेलको छेउमा अवस्थित छ । बाहिरी आँखाले हेर्दा भद्रकाली मन्दिर सामान्य ढुङ्गाले बनेको छ । तर यसको महत्वचाहिँ निकै छ ।
जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख या मंगल गर्छिन्, उनै भद्रकाली हुन् भन्ने धार्मिक मान्यता छ । यो मन्दिर १८औँ शताब्दीमा बनेको मानिन्छ । त्यतिबेलादेखि नै भद्रकालीलाई त्यतिबेलाको नेपाल र अहिलेको उपत्यकाको विभिन्न शक्तिपीठमध्येको एउटा शक्तिपीठ मानिन्छ र यहाँ आफ्नो रक्षाका लागि पूजा आराधाना गर्न भक्तजनहरू जाने गर्दछ ।
तिनै भद्रकालीले सधैँ रक्षा गरुन् भन्ने मान्यता राखेर नेपाली सेनाको मुख्यालय पनि त्यही भद्रकाली मन्दिरको सामुन्ने राखिएको छ । सेनाले देशको रक्षा गर्छ र भद्रकाली माताले देशको रक्षा गर्न सेनालाई शक्ति प्रदान गर्छिन् भन्ने विश्वास गरिन्छ । भित्र सामान्य शिलाको मूर्ति रहे पनि भद्रकाली माताप्रतिको जनविश्वासचाहिँ असाध्य धेरै छ । मानिस मात्र नभएर गाडीहरू पनि मन्दिरलाई दाहिने पारेर आफ्नो गन्तव्यतिर लाग्ने गर्छन् तर पछिल्लो समय अधर्मीहरूको बढोत्तरी हुँदै गएकाले देब्रे पारेर पनि हिँड्न थालिएको छ ।
ट्राफिक प्रहरीले पनि त्यही अधर्मलाई बढाएको छ । भद्रकालीलाई देब्रे पारेर गाडी चलाउने बाटो खोलेको छ । तर लोकतन्त्र आउनुअघिसम्म त्यस्तो गर्न निषेध थियो । तर अहिले ट्राफिकले आफ्नो धर्म परम्परा र मर्म बिर्सिएर प्रहरीको जात जनाउन थालेपछि त्यसमा पनि अनुशासनहीनता बढ्दै गएको सवारीचालकहरूमाथि हातपात गरिएका पछिल्ला घटनाले पनि दर्शाएको छ । आखिर ट्राफिक प्रहरी पनि यही समाजको सदस्य हो, समाजमा जस्तो हावा चलेको छ त्यही नै जाने भयो । अर्को कुरो प्रहरी पनि हो । त्यस अर्थमा उसले जात जनाएको मान्नुपर्छ । आफ्नो मर्यादा बिर्सिएको ट्राफिक प्रहरीले मन्दिरलाई देब्रे पारेर गाडी गुडाउन बाटो खोल्नु अरुलाई अप्ठ्यारो लागे पनि उसका लागि सामान्य नै होला । तर हाम्रो धार्मिक मान्यता र परम्पराअनुसार चाहिँ सामान्य मानिँदैन ।
भद्रकालीमा पूजापाठ मात्र होइन, बिहे ब्रतबन्ध गर्ने चलन पनि छ । रोगव्याधि लाग्दा भाकल गर्ने चलन पनि छ । सैनिकहरू बिहान मन्दिरलाई दाहिने पारेर घुमेर मुख्यालय छिर्ने गर्दछन्, अद्यर्मीबाहेकका गाडीचालक र यात्रुहरूले पनि त्यहाँ पुग्दा बाहिरैबाट भए पनि मन्दिरलाई मनढोग नगरी अघि बढ्दैनन् । माओवादी हिंसा बढेसँगै धार्मिक आस्थामा कमी आएको थियो । उपत्यकाबाहिर जस्तैः खोटाङको हलेसी मन्दिरमा पूजा गर्नेहरूको खडेरी लागेको छ । तर भद्रकालीमा त्यस्तो खडेरी नै त लागेको छैन । जनविश्वास टुटेको छैन । तर त्यसप्रतिको सरकारी क्षेत्रबाट हुने व्यवहार फेरिएको छ । सामान्य ढुङ्गाको मूर्तिको रूपमा अथ्र्याउन खोजिएको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सचिवहरू नै भद्रकालीलाई देब्रे पारेर हिँड्न थालेपछि त्यसको असर जनस्तरमा पनि नपर्ने कुरै भएन । त्यसमाथि पनि शक्तिपीठको अवज्ञा गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सुनसरी पुगेर भैँसी पूजा गरेको घटनाले धार्मिक अनास्था झनै बढाएको छ ।
अहिले पनि प्रचण्ड र कांग्रेसका चार गद्दारको कारण भद्रकालीमा अभद्र भएको छ । त्यसबाट भद्रकाली रिसाएर हाम्रो रक्षा नगर्ने हो भने यहाँको अवस्था के होला ? कल्पना गर्दा पनि कहाली लाग्ने अवस्था छ । हालसालका व्यवहारले भद्रकालीलाई पनि मन दुख्दो हो । भनिन्छ नि, मन दुखेको औषधि हुँदैन । साँच्चै भद्रकालीको मन दुखेको हो भने त्यसको औषधि बाहिर खोजेर पाइँदैन । भद्रकाली भद्रकाली नै हो । चाहे कसैले नमानोस्, अवज्ञा गरोस् । अनास्था फैलाओस् तर जनस्तरको आस्था र विश्वास कसैले मेटाउन सक्दैन । तर रातो टीका लगाएर हिँड्न नछाडे पनि भद्रकालीप्रति अनास्था बढाउने प्रयासको बीजारोपण गरेर गरेको गल्तीको जिम्मेवारीचाहिँ प्रचण्ड, पूर्णबहादुर खड्का, रामहरि खतिवडा, गगन थापा र विश्वप्रकाश शर्माहरूले नै लिनुपर्दछ । किनकि भद्रकाली दूषित पार्ने र अनास्था बढाउने कामको सुरुवात उनीहरूले नै गरेका हुन् । उनीहरूले बिटुल्याउन खोजेपछि आस्था र विश्वासको भद्रकालीले भक्तजनहरूको रक्षा गर्न छाडेको अवस्थामा के हुन्छ ? त्यसका बारेमा जिम्मेवारी पनि तिनै अधर्मीहरूले लिनुपर्ने हुन्छ ।
सदियौँदेखि भद्रकालीमाथि जनताको अन्तिम विश्वास र भरोसा रहँदै आएको छ । कहिलै भैँसी पूजा गरेर त कहिले मलमुत्र छर्केर अनास्था सिर्जना गर्ने प्रयास नभएका होइनन् । त्यसका बाबजुद पनि जनविश्वास त्यहीँ अडेको छ । अहिले यी अधर्मीले गरेजस्तै धोका दिएर भद्रकालीले रक्षा गर्दिनँ भने के होला ? त्यो अहिलेको अहम् प्रश्न बन्न पुगेको छ ।