वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उच्चस्तरमा नै छ । वर्षको करिब आठदेखि दशलाखसम्मको संख्या वैदेशिक रोजगारीमा जाने गरेका आँकडाहरू छन् । यो भनेको तेस्रो देशको संख्या हो । छिमेकी देश भारतमा त कुन वर्ष कति गए वा गइरहेका छन् भन्ने रेकर्ड पनि हुँदैन । खुला सीमाका कारण त्यता जानेहरूको उचित अभिलेख रहने गरेको छैन । केहीकेही नाकामा यस्तो रेकर्ड राखिन्छ पनि होला तर यकिन यति नै होला भनी अनुमान गर्न सकिँदैन । खासगरी पश्चिम भू–भागबाट छिमेकी देशमा रोजगारीका लागि जाने र चार्डपर्वमा फर्केर आउनेहरूको लर्को नै देखिन्छ । यो एउटा सामान्य प्रक्रिया भइसकेको अवस्था छ । त्यताजान कुनै रोकबाट नहुने कारणबाट पनि युवाशक्ति लस्करै त्यता लाग्ने गर्छन् । तर नेपाली मात्र भारत जाने होइनन् । भारतबाट पनि ठूलो संख्यामा रोजगारीकै लागि नेपाल आउने गरेका पाइन्छ । जसको पनि औपचारिक रेकर्ड हुँदैन । तर यतिचाहिँ के भन्न सकिन्छ भने नेपाल पनि संख्या कमबेसी जेहोस् रोजगारदाता देशमा नै पर्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विवरणमा हेरियो भने नेपालमा विभिन्न क्षेत्रमा काम गर्नका लागि हजारौँ दक्ष विदेशी श्रमिक आउजाउ गरेको देखिन्छन् । ठूलाठूला र राष्ट्रिय महत्वका तथा राष्ट्रिय गौरव मानिएको सरकारी योजना तथा निजी क्षेत्रका विभिन्न उद्योग तथा व्यवसाय विदेशी श्रमिकका संख्या निकै बाक्लो नै रहेको पाइन्छ । जसले नेपाल पनि रोजगारदाता देशमध्येमा नै पर्छ भन्न सकिन्छ । मन्त्रालयको अभिलेखअनुसार यतिबेला नेपालमा २१ हजार सात सय ५९ जना दक्ष विदेशी श्रमिक कार्यरत रहेका अवस्था छ । यसमा पुरुष १९ हजार एक सय ३८ जना र महिला दुई हजार छ सय २१ जना रहेका छन् । खासगरी दक्ष विदेशी श्रमिकका लागि त नेपालले आह्वान नै गर्ने गरेको छ । यसले यदि आफ्ना नागरिकलाई दक्ष बनाउनेतर्फ लाग्ने हो भने कम्तीमा उल्लेखित संख्यामा आफ्नै नागरिकले रोजगारी पाउने थिए भन्ने ठान्न सकिन्छ । श्रम विभागका अधिकारीका अनुसार विभिन्न संघ–संगठनले दक्ष विदेशी श्रमिक ल्याउन पाउँ भनेर निवेदन नै दिइन्छ । उनीहरूको आवश्यकता पूरा गर्न विदेशी श्रमिकलाई श्रम स्वीकृति दिइन्छ । सरकार आफैँले पनि स्वदेशी श्रमिक प्रयोग गर्ने र अभाव भएको खण्डमा आपूर्ति गर्न सक्ने व्यवस्था गरेको अवस्था छ । विभिन्न परियोजनामा दक्ष जनशक्ति त चाहिन्छ नै ।
यतिबेला श्रम विभागको अनुमतिबाट नेपालमा रोजगारी गरिहेका मुलुकको संख्या पनि सयभन्दा बढी नै छन् । विवरणले नै नेपालमा आकर्षक प्रकारको रोजगारी प्राप्त गरिहेकामध्ये अर्को छिमेकी देश चीनका नागरिकहरू सबैभन्दा बढी छन् । चिनियाँ ठेकेदारको संख्या पनि ठूलो छ । खासगरी भौतिक पूर्वाधार निर्माणमा चिनियाँ ठेकेदारले काम पाउने गरेका छन् । देशका केही वर्षअघि मात्र सम्पन्न भएका दुईवटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ठेकेदारले नै बनाएका हुन् । विभागका अनुसार हालसम्म चिनियाँ श्रमिकको संख्या १० हजारभन्दा बढी रहेको अवस्था छ । नेपालमा काम गर्ने विदेशी श्रमिकमा अरू देशका पनि छन् । बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या ठूलो रहेको अभिलेख छ । सबैले नै श्रम स्वीकृति लिएका, त्यसको नवीकरण गरेको आधारमा यो संख्या रहेको बताइएको छ । जस्तो बेलायतका छ सय २७, अमेरिकाका चार सय ६९, दक्षिण कोरियाका तीन सय ५३, जापानका तीन सय ३४, अस्ट्रेलियाका एक सय ६७ जना आदि । यी सबैले के भन्न सकिन्छ भने नेपाल पनि एउटा रोजगारदाता देशमा नै पर्छ ।