काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबीच रेडियो नेपालका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता भएपश्चात् रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी व्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर पाँच दशमलव १४ प्रतिशत रहेको छ । सम्झौताअनुसार रेडियो नेपालका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरू भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकारलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।