काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकभित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालयमा आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवादमा उनले गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइका राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताएका हुन् । ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो’, उनले भने ।
यस्तै, कार्यक्रममा सभापति देउवाले राज्यको आवश्यकताअनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्नेमा जोड दिए । विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘आईटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवावर्गलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।’ निजी क्षेत्रमा लगानी सहज बनाउन संसद्बाट पाँच वटा विधेयक पारित भएको छ भन्दै उनले लगानी गर्न सहज बनाउने गरी बजेट आउने विश्वास दिलाए । कार्यक्रममा उनले देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जित भएको बताए ।
‘भारतमा उदारीकरणको नीति नहुँदा नेपालले सुरुवात गरेको हो, सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौँ, प्रचण्ड र ओलीजी पनि यही नीतिमा हुनुहुन्छ, सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो’, उनले भने, ‘सबै पार्टीहरू उदारीकरण आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ । तर सरकारीले काम गर्न सकेको अवस्था छैन, दुवैलाई अगाडि बढाइरहेका छौँ ।’
यस्तै, सभापति देउवाले जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरू पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै वनजङ्गल बचाउन ध्यान दिनुपर्ने बताए । उनले भने, ‘ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ, शिक्षा, स्वास्थ्य एवं हवाई यातायातका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, समावेशी विकास र भेदभावको अन्त्य नेपाली कांग्रेसले नै गरेको हो ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री महेश आचार्यले राज्य नियन्त्रित अर्थ व्यवस्था हुनुहुँदैन भन्दै कांग्रेसले खुला र प्रतिस्पर्धी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । सार्वजनिक संस्थानमा सरकारबाट प्रवाह हुने लगानीअनुसार प्रतिफल हासिल हुन नसक्दा नकारात्मक असर परिरहेको भन्दै यसलाई ध्यान दिँदै निजीकरणतर्फ जोड दिनुपर्ने उनले बताए । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीतिका बारेमा जानकारी गराउँदै अर्थतन्त्रका मुख्य समस्या र समाधानका लागि अवलम्बन गर्नुपर्ने कार्यहरूका विषयमा जानकारी गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक स्थिरता आउन नसकेको बताए । उनले खुलाबजार अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आन्तरिक उत्पादनलाई निर्यात गर्न जोड दिनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डेले आगामी बजेटमा कर प्रणालीको सुधार गर्नुपर्ने, कर संकलन एउटै प्रणालीबाट हुनुपर्ने, दोहोरो करको व्यवस्थालाई हटाइनुपर्नेमा जोड दिनु आवश्यक रहेको बताए । उनले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन, प्राकृतिक सम्पदाहरूको राम्रोसँग उपयोग गर्न ध्यान दिनेगरी बजेट आउनुपर्ने बताए ।