इस्लामाबाद । भारतले जम्मू कश्मीरको चेनाब नदीमा सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । यसका कारण पाकिस्तान जाने चेनाब नदीको पानीको बहाव रोकिएको छ र पानीको सतह १५ फिटमा झरेको छ ।
पाकिस्तानमा चेनाब नदीको पानीको सतह २२ फिट थियो जुन २४ घण्टामा सात फिटले घटेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चेनाब नदीको निरन्तर संकुचनका कारण, पञ्जाबका २४ महत्वपूर्ण सहरका तीन करोडभन्दा बढी मानिसहरूले चार दिनपछि पिउने पानीको अभाव हुनसक्छ ।
पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका सहरहरूको ८० प्रतिशत जनसंख्या पिउने पानीको लागि चेनाबको सतहको पानीमा निर्भर छन् । सिन्धु जल प्राधिकरणले भारतको यो कदमले खरीफ बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । पाकिस्तानी संसद्ले यसलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ ।