काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताएका छन् ।
गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशका अवसरमा बुधबार गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा उनले इतिहासका अनेक घटनाको साक्षीका रूपमा गोरखापत्रले राष्ट्रलाई योगदान गरेको बताउँदै अहिले सरकारले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को को राष्ट्रिय आकाङ्क्षा गोरखापत्रले पहिलो दिनको प्रकाशनमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।।।’ को उद्घोषबाट आरम्भ गरेको स्मरण गरे ।
“राणा र राजतन्त्रकालमा शासकविरोधी कुनै सङ्केतसम्म पनि छाप्न नपाइने स्थिति थियो । अहिले हामी स्वतन्त्र छौँ । अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इशारा केही जाँदैन । तपाईँहरु आफ्नो ब्रम्हले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “निरङ्कुशताको तरबारबाट गोरखापत्र सँधै प्रताडित हुन्थ्यो, अहिले स्वतन्त्र छ । यसले सरकार, देश र जनताप्रतिको बफादारितालाई पालना गर्दै आएको छ । यसले मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको योगदानको म प्रशंसा गर्दछु ।”
राससका अनुसार गोरखापत्रले सिङ्गो समाजको साँच्चै सेवा गरेर गुन लगाएको बताउँदै उनले अब यसका अगाडि पपुलिष्ट प्रवृत्तिका सञ्चामाध्यमसँगको चुनौती सामना गर्नुपर्नेमा जोड दिए ।
“जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ ।”, उनले भने, “गोरखापत्रले पत्रकारितामा एउटा मानक तय गरेको छ । यो कमाइको भाँडो होइन, जनतालाई सूचना, मनोरञ्जन दिने र भाषा, कला र संस्कृतिको योगदान गर्ने संस्था हो । भविष्यका लागि आइपर्ने चुनौतीको सामना गर्न यो सक्षम रहोस् ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्वअध्यक्ष विजय चालिसेलगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरे ।