काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् । केही दिनअघि संघीय संसद्का दुवै सदनबाट सो विधेयक पारित भएको थियो ।
१६ असोज ०८० मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक संसद्मा दर्ता गराएका थिए । विधेयकमा खातामा रकम नभई चेक जारी गर्न नपाउने व्यवस्था छ । यसैगरी चेक अनादरमा जरिवाना र कैद सजाय हुने व्यवस्था पनि गरिएको छ । यसैगरी यस्ता कसुरमा मिलापत्र गर्नसक्ने व्यवस्था पनि गरिएको छ । साथै सहकारी र बैंकको परिभाषालाई स्पष्ट पारिएको छ । २०८१ चैत ६ गते राष्ट्रियसभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गरेको थियो । राष्ट्रिय सभाको बैठकमा भने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरेका थिए ।