काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेसनल लेबर फाउन्डेसनको संयुक्त आयोजनामा बुधबार भएको औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी सेमिनारमा उनले सीपयुक्त श्रमशक्ति उत्पादनका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । रोजगारीलाई सीपसँग जोडन सके मात्रै देशभित्र रोजगारका अवसरहरू सिर्जना गर्न सकिने उनको भनाइ छ । बजारको मागअनुसार सीपयुक्त जनशक्ति भएन त्यसलाई रोजगारसँग जोड नसकिने उनले बताए । उनले भने, ‘बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सीपयुक्त श्रमशक्ति हो ।’
मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरू एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस् वा न्यूनतम ज्यालालगायतका विषयमा सहमतिमा साथ अगाडि बढ्नुपर्ने उनले बताए । उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरू सामाधन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘न्यूनतम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरी राखेका छन् । यो समितिले एउटा ठोस निष्कर्ष सहित न्यूनतम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ ।’
यस्तै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरूको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागू हुने कार्यक्रम अगाडि सारिएको बताए । त्यसका लागि आवश्यक ऐन, कानुनहरू संशोधन हुने उनले जानकारी दिए । सरकारले ल्याएको यस नीति औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरूको हकमा लागू हुने उनको भनाइ छ । नीति कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।