काठमाडौं । सेयरबजार जहिले पनि देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ । अर्थतन्त्र राम्रो हुँदै गयो भने सेयरबजार पनि फस्टाउँदै गएको हुन्छ । यदि अर्थतन्त्रले गतिलिन सकेन भने सेयरबजार स्वतः खस्किँदै गएको हुन्छ । सेयरबजार केवल सेयरबजार मात्र हो भनेर बुझ्ने हो भने त्यो गलत पनि हुन सक्छ । किनभने सेयरबजार राष्ट्रिय अर्थतन्त्रको प्रमुख अंग पनि हो । त्यसकारण सेयरबजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरिएको पनि हुन्छ ।
अहिले देशको अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको अवस्था छ । किनभने अर्थतन्त्रका सबैजसो सूचकांकहरू कमजोर देखिएका छन् । हो अहिले बाह्य सूचकांकहरू सकारात्मक देखिएका छन् । तर पनि यहाँ टिप्पणी गर्न सकिने ठाउँहरू प्रशस्त रहेका छन् । विप्रेषणबाट आएको रकमले विदेशी मुद्रा सञ्चिति राम्रो देखिएको हो । १४÷१५ महिना भुक्तानी गर्न सकिने अवस्था छ । त्यसैगरी शोधनान्तर स्थिति अनुकूल छ । यस्तो अवस्थामा किन अर्थतन्त्र चलायमान हुन सकेन त भन्ने प्रश्न पनि आइरहेको छ ।
वास्तवमा भन्ने हो भने अहिले अर्थतन्त्रमा धेरै समस्या देखिएका छन् । देशको अर्थतन्त्र मजबुत बनाउन अर्थतन्त्रका बाह्य सूचकभन्दा पनि आन्तरिक सूचकहरू प्रवल हुनुपर्छ । बाह्य सूचक भनेको विप्रेषणबाट प्राप्त हुने रकम नै हो । विदेशी मुलुकका रोजगारी नीतिमा केही परिवर्तन आउनासाथ सोको प्रत्यक्ष असर विप्रेषणमा परिहाल्छ । ठूलो संख्या बेरोजगार हुन सक्छ । उनीहरूले पठाउने रकममा कमी हुन सक्छ । अथवा कमी मात्र होइन रकम नै नआउन सक्छ । त्यस अवस्थामा हाम्रो अर्थतन्त्रमा कस्तो असर पर्ला सहजै अनुमान गर्न सकिन्छ ।
सुदृढ अर्थतन्त्रले सेयरबजारलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँछ । सुदृढ अर्थतन्त्र भनेको अर्थतन्त्र चलायमान हुनु हो । यस अवस्थामा जनताको हातहातमा पैसा पुग्छ । पैसा पुग्नका लागि सरकारले गर्ने पुँजीगत खर्च बढ्नुपर्छ । सरकारले पुँजीगत खर्च बढाउन सक्यो भने सेयरबजारमा सकारात्मक प्रभाव पर्नसक्छ । तर अहिले त्यस्तो अवस्था देखिँदैन । किनभने पुँजीगत खर्च ज्यादै निराशाजनक देखिन्छ र चालुगत खर्च भने तीब्ररूपले बढ्दै गएको अवस्था छ । पुँजीगत बढाउन नसक्नु र चालुगत खर्च बढ्दै जानु भनेको अर्थशास्त्रीय दृष्टिकोणबाट भन्ने हो भने उल्टो दिशातर्फ जानु हो । अर्थतन्त्र चलायमान हुन नसक्नुमा वर्तमान अवस्था मात्र जिम्मेवार देखिँदैन । किनभने २०७२ सालको भूकम्प, विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को असर, भारतले लगाएको अघोषित आर्थिक नाका, मध्यपूर्व र रुस युक्रेनको युद्धजस्ता घटनाले पनि नेपालको अर्थतन्त्रलाई प्रभावित पारेकै हो । साथै, पछिल्ला वर्षमा पटक–पटक सरकार परिवर्तन भइरहँदा निश्चय नै अर्थतन्त्रले गतिलिन नसकेको भन्न सकिन्छ । अहिलेको अवस्थामा पनि कुनै पनि सरकारले पूरा अवधि सत्तामा नरहेको हुनाले आर्थिक नीतिहरू एकातिर तर्जुमा नै हुन सकेका छैनन् भने अर्कोतर्फ लागू भए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकिरहेको अहिलेको अवस्था हो ।
प्रभावकारी बजेट ल्याउनुको सट्टा सबैलाई खुसी पार्ने बजेट आउने कार्यले निरन्तरता पाउनु पनि अर्थतन्त्रको घातक रोग हो । सत्ता, शक्ति र पहुँचको आधारमा बजेट ल्याउने परम्पराको अन्त्य हुन सकेको छैन । यस प्रकारको बजेट कुनै तथ्य र यथार्थतामा आधारित भएको हुँदैन । जसले गर्दा बजेट कार्यान्वयनको चरणमा समस्या आएका थुप्रै दृष्टान्त देखिन्छन् । त्यसकारण कतिपय आयोजनाहरू लागतजन्य र समयजन्य हुन पुगेका छन् । अनावश्यकरूपमा बेलुन फुलाएजस्तो गरी बजेट बनाउँदा त्यसबाट आउने नतिजा प्रतिकूल नै हुन्छन् नै ।
अर्थतन्त्रको कुरा गर्दा राज्यले प्राप्त गर्ने राजस्वको कुरा पनि आउने हुन्छ । अर्थतन्त्र कमजोर भएको अवस्थामा लक्ष्यअनुसारको राजस्व असुली हुन सक्दैन । कुल गार्हस्थ उत्पादनको ८० प्रतिशतभन्दा बढी योगदान गर्ने निजी क्षेत्र धरासायी भएको अवस्थामा राजस्वले लक्ष्य हासिल गर्न नसक्नुलाई अन्यथा भन्न पनि सकिँदैन । यसैगरी गरी बाह्य मुलुकबाट आउने अनुदानमा पनि कमी हुँदै आएको अवस्था देखिन्छ ।
राजस्व र अनुदानमा मात्र कमी आएको होइन कि अहिले ऋण प्राप्त गर्ने विषयमा पनि शंका गर्न थालिएको छ । कुल गार्हस्थ उत्पादनको अनुपातमा अहिले करिब ४७ प्रतिशत ऋण पुगेको छ । यसको सावाँव्याज भुक्तानीमा ठूलो रकम जाने गरेको छ । प्रत्येक नेपालीको टाउकोमा ८६ हजारभन्दा बढी ऋणभार देखिन्छ । ऋणबाट डराउने होइन । त्यो ऋण उत्पादनशील क्षेत्रमा प्रवाह हुन सकिरहेको छ छैन भन्ने प्रश्न ठूलो हो । अर्कोकुरा यसरी लिएको ऋणको प्रयोगले अर्थतन्त्रमा ठूलो भूमिका खेलेको हुन्छ । अहिले ठूला आयोजनाहरूमा खर्च भएको ऋणमा भएको भ्रष्टाचारका घटनाहरूले देशको अवस्था कस्तो छ भन्ने कुरा देखाएकै छ । यहाँ सेयरबजार अर्थतन्त्रसँग कसरी जोडिएको हुन्छ भन्ने कुरालाई प्रष्ट पार्न केही उल्लेख मात्र गरिएको हो । ३२ सय पुगेको सेयरबजार यसरी किन खस्किँदै गयो भन्ने विषय एकोहोरो किसिमले हामी भनिरहेका हुन्छौँ । यस्तो अवस्था सिर्जना हुनुमा मूलतः अर्थतन्त्रमा आशातित सुधार आउन नसक्नु नै हो ।
सेयरबजारलाई माथि उकास्ने सम्बन्धमा धेरै कुराहरू जिम्मेवार हुन्छन् । सर्वप्रथम सरकार जिम्मेवार हुनुपर्ने हो अहिले त्यो भएको देखिँदैन । देशको अर्थतन्त्र सुदृढ बनाउने मुख्य दायित्व सरकारको हो । सरकार कसरी चलिरहेको छ भन्ने सम्बन्धमा हामी सबैलाई थाहा भएकै विषय हो । अस्थिर सरकारलाई टिक्नै कठिन भएको अवस्थामा अर्थतन्त्रलाई लयमा ल्याएर अघि बढ्ने भन्ने कुरो नै हुँदो रहेनछ । सबै कुरा सत्ता र शक्तिमा केन्द्रित भएपछि अरू कुराहरू सबै ओझेलमा पर्दा रहेछन् । अहिलेको अवस्थालाई अध्ययन गर्ने हो भने पनि यो कुरा पुष्टि हुन आउँछ नै ।
सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ जाने हो भने त्यति कठिन पनि देखिँदैन । मुख्य कुरो राजनीतिक प्रतिबद्धता हुनुपर्यो । अर्थतन्त्रमा केही मात्र सुधार हुनसक्यो भने पनि सेयरबजार उकालो लागि हाल्छ । किनभने सेयरबजार निकै सेन्सेटिभ हुन्छ । कुनै जिम्मेवार व्यक्तिले सेयरबजारसम्बन्धी केही सुधारका कुरो गरिदिए मात्र पनि बजार उचाली हाल्छ । त्यस्तैगरी नियामक निकायको प्रमुख नियुक्ति हुनासाथ लगानीकर्तामा आशा पलाइहाल्छ । बजेटको कुरा होस् वा बजेटको समीक्षाका कुरा होस् वा नेपाल राष्ट्र बैंकले समीक्षा गर्ने कुरो होस् केही सकारात्मक विषय आउनासाथ सेयरबजारले गति लिइहाल्छ । यहाँ भन्न खोजिएको कुरो के हो भने सेयरबजारमा सुधार गर्न ठूलाठूला काम गर्नैपर्दैन । सानातिना प्रयास गर्दा पनि सुधार गर्न सकिन्छ । हो, अर्थतन्त्रमा सुधार गर्न सकियो भने सेयरबजारमा स्वतः सुधार आउने नै हुन्छ । अहिले अर्थतन्त्र सुधारोन्मुख हुन नसकेको कारणले गर्दा सेयरबजार खस्किँदै गएको हो ।
संक्षेपमा भन्ने हो भने सेयरबजारलाई अर्थतन्त्रको ऐनाको रूप दिन धेरै सुधार गर्नुपर्ने अवस्था छ । अहिलेसम्म पनि लगानीकर्तामा वित्तीय साक्षरताको कमी देखिन्छ । जसको कारणले गर्दा जथाभावी किसिमले आर्थिक कारोबार गर्दा जोखिम लिनुपरेको अवस्था छ । जता भीड गयो उतै भीड बढ्दा सेयरबजार प्रभावकारी हुन सकिरहेको छैन । सेयरबजारमा विकृति नभएका पनि होइनन् । ब्रोकरको विषयमा कुरा गर्नुहोस्, इन्साइडर ट्रेडिङको विषयमा होस्, धितोपत्र बोर्डको विषयमा होस्, नेप्सेको विषयमा होस्, नियामक विषयमा होस् वा नेपाल राष्ट्र बैंकको विषयमा होस् वा सरकार र अर्थमन्त्रीकै विषयमा होस् कहाँ देखिँदैनन् र समस्या ? निश्चय नै समस्या छन् तर समाधान गर्न पनि सकिन्छन् । आवश्यकता छ प्रतिबद्धताको ।
ेही समयअघि अन्तर्राष्ट्रिय ख्यातीप्राप्त संस्था फिचले गरेको नेपालको सार्वभौम साख मूल्याङ्कन प्रतिवेदनले नेपाललाई मध्यमखालको डवल बि माइनस रेटिङमा राखेको थियो । नेपालको लागि यो पहिलो मूल्याङ्कन भएको र राम्रो रेटिङ आएकोले निजी क्षेत्र निकै हौसिएको थियो । साथै, अन्तर्राष्ट्रिय जगतबाट लगानी भित्रिने आशा पनि थियो । तर हालै नेपाल ग्रे लिस्टमा परेको हुनाले नेपालको अर्थतन्त्र निराशामा परिणत हुँदै जाने सम्भावना बढ्दै गएको छ । यसभन्दाअघि पनि नेपाल ग्रे लिस्टमा परेको थियो । यसबाट बाहिर आउन छ वर्ष लागेको थियो । अहिले दुई वर्षको अवधि दिए पनि त्यसभन्दाअघि नै बाहिर ल्याउन सरकारले गृहकार्य गरिरहेको छ भन्ने अर्थमन्त्रीको भनाइ भए पनि यसमा विश्वास गर्न सकिने आधार निर्माण भई सकेको देखिँदैन ।
उपरोक्त पृष्ठभूमिलाई आधार लिने हो भने नेपालको सेयरबजारमा सुधार आउन केही समय लाग्ने नै देखिन्छ । सेयरबजारको क्षेत्र फराकिलो हुँदै गएको र लगानीकर्ताको जमात पनि करिब ६२ लाखभन्दामाथि रहेको हुनाले सरकारले यस क्षेत्रलाई उकास्नेतर्फ ढिलो नगरीकन कार्यक्रम ल्याउनुपर्छ । सरकार मौन रह्यो भने ठूलो जोखिम आउन सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ । लगानीकर्ता र सम्बन्धित नियामक निकायहरूले पनि आ–आफ्नो तर्फबाट सुधारका प्रयास गर्नुपर्छ । यसकारण अझै लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहनु उपयुक्त हुनेछ । यस अवस्थामा लगानीकर्ताहरू विवेकशील भने हुनैपर्छ ।
के बुझ्नुपर्छ भने सेयरबजार यस्तो बजार हो अरू व्यवसायजस्तो एकैचोटी भासिने गर्दैन । लगानीकर्ताले विवेक पुर्याउन सक्ने हो र केही समय प्रतीक्षा गर्ने हो भने बजार रिभाइभ हुन्छ नै । अरूको कुरालाई आधार लिनुभन्दा बढी मात्रामा आफैँले बुद्धिमत्तापूर्वक कारोबार गर्नुपर्छ ।