काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध तीव्र बनेको छ । पाकिस्तानले बिहीबार राति ड्रोन र मिसाइल आक्रमण गरेको छ । यी आक्रमणहरू जम्मू कश्मीर, पञ्जाब र राजस्थानमा गरिएका थिए । पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ भने एस–४०० वायु रक्षा मिसाइल प्रणालीले खसालेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट आक्रमण गरेको थियो । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएका थिए ।
आरएस पूरा सेक्टरमा पाकिस्तानतर्फबाट भारी गोलाबारी भइरहेको छ । नियन्त्रण रेखा (एलओसी) नजिकै कुपवाडा र बारामुल्लामा पाकिस्तानी तर्फबाट भारी गोलीबारी भइरहेको छ, जसको भारतीय सेनाले जवाफ दिइरहेको छ । सतवारी, साम्बा, आरएस पुरा सेक्टर र अर्नियामा आठवटा मिसाइल प्रहार गरेको थियो ।
भारतले जम्मु र कश्मीर, राजस्थान, पंजाब र गुजरात क्षेत्रमा पूर्णरुपमा ब्ल्याकआउट गरेको छ । भारतले अपरेसन सिन्दूरबाट आक्रमण गरेको भोलिपल्ट पाकिस्तानले १५ भन्दा बढी भारतीय सैन्य अड्डाहरुमा आक्रमण गर्ने प्रयास गरेको थियो । त्यसको बदलामा भारतले बिहीबार बिहान पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानले उत्तरी र पश्चिमी भारतका सहरहरुमा निशाना बनाएको बताएको छ ।