काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५को दशौँ संस्करण बिहीबारबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट सुरु भएको मेला वैशाख २९ गतेसम्म चल्नेछ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरेका छन् ।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए । ‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ’, मन्त्री भण्डारीले भने ।
उनले हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए । मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनले बताए ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए ।
नेपाल, चीन र बंगलादेशका गरी एक सय २० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।