विराटनगर । कोशी प्रदेशकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रालिले लुम्बिनी प्रदेशको कपिलवस्तुमा उद्योग सञ्चालनमा ल्याएको छ ।
कम्पनीले कपिलवस्तु नगरपालिका गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको हो । उद्योगका सञ्चालक एवं जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गरेर उद्योगको शुभारम्भ गरेको जानकारी दिए । सो उद्योगमा हाल ४० करोड लगानी गरिसकिएको उद्योगी जाजुले बताए । चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने उनले बताए । विराटनगरको जाजु र शारडा ग्रुपले मोरङको विराटनगरमा दुई दशकअघि देखि नै सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो ।
कम्पनीले सुनसरी मोरङ औद्योगिक कोरिडोरको सुनसरीबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’लगायतका चाउचाउका ब्रान्डहरू नेपालमा उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक जाजुका अनुसार अब कपिलवस्तुको उद्योगबाट पनि ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउहरूसँगै केही थप नयाँ ब्रान्डहरू समेत उत्पादन गरिने छ । कपिलवस्तुमा सञ्चालनमा आएको उक्त उद्योग करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको छ । सुरुमा चाउचाउ उत्पादन गरिने र क्रमशः अन्य स्न्याक्सहरू पनि उत्पादन गर्दै लगिने कम्पनीको लक्ष्य रहेको उद्योगी जाजुले बताए ।