काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)बीच सम्झौता भएको छ । नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबीएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले म्यान सिटिजन्स एसपायरिङ म्यानेजर अवार्डको स्थापना गर्ने विषयमा उक्त सम्झौता भएको हो ।
म्यानको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सहमति–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका छन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबीएमा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ । पुरस्कारको रकम ५१ हजार रूपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिकरूपमा पुरस्कारका लागि आवश्यक रकम उपलब्ध गराउने छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ८६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।