काठमाडौं । ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा स्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रिथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ ।
एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ । ह्वाट्सएपमार्फत बिरामीलाई इनहेलर समयमै प्रयोग गर्न नियमितरूपमा सम्झाउनेछ । देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ । नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको छ ।
‘ब्रिथफ्री ९०’ कार्यक्रमले यस्ता समस्यालाई हल गर्ने अपेक्षा गरिएको छ । ‘ब्रिथफ्री ९०’ मा सहभागी बिरामीहरूले आफ्नो उपचार तालिकाअनुसार हरेक दिन सजिलो भाषामा तयार पारिएका सन्देशहरू प्राप्त गर्नेछन् । एआईले इनहेलर प्रयोगको सही तरिका र रोग व्यवस्थापनसम्बन्धी जानकारी पनि दिनेछ, जसले बिरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्याउनेछ । कार्यक्रममा सहभागी हुन क्लिनिक, अस्पताल वा फार्मेसीहरूमा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ । सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको माध्यमबाट बिरामीहरूको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए ।
नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रम स्वास्थ्यकर्मीहरू माझ प्रवद्र्धन गर्दै अस्पताल र क्लिनिकहरूमा यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नेछ । सिप्ला र सोसाइटीबीचको यो सहकार्यले हजारौँ नेपालीको श्वासप्रश्वास स्वास्थ्य सुधारमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।