काठमाडौं । हाम्रो देशमा अझै पनि कडाइका साथ वित्तीय अनुशासन पालना हुन सकेको छैन । अझै छाडापन छ र जसले जे गरे पनि हुने अवस्था छ । यो वा त्यो बहानामा ल्याइएको कालोधन थुपारेर कुनै उद्योगधन्दा वा व्यापार–व्यवसाय नगरी रातारात धनी हुने व्यक्तिको यहाँ कमी छैन । त्यसरी भित्र्याइएका कालोधन लगानी गरेर यहाँ व्यापार–व्यवसाय बढाउने माफियाहरू पनि नेपालमा प्रशस्तै भेटिन्छन् ।
यहाँका राजनीतिक नेता वा पत्रकारजस्तै व्यापारी बनेका व्यक्तिहरूमा पनि ‘मल्टी एजेन्ट’को कुनै कमी छैन । जसले जहाँ पायो त्यहाँ र जसरी भए पनि धनी बन्ने मौका पाउँदा कसैले छाडेका छैनन् । तर जसले मौका पाएका छैनन् उनीहरूले चाहिँ इमान्दारिताको राग अलापेर बसेका छन् । उनीहरूको इमानको परीक्षण हुन पाएको छैन । अहिले रातारात धनी भएकाहरू पनि पहिले इमानका कुरा गर्थे । कमल थापाले पनि राजेन्द्र लिङ्देललाई धोका दिएकै हुन । यो दुनियाँमा धोका दिनेभन्दा धोका खानेहरु धेरै छन् । तर उनीहरु बाहिर बोल्न सकेका हुँदैनन् । त्यसकारण अहिले इमानको कुरा गर्नेहरूको पनि परीक्षण गर्न एकपटक सत्ताको स्वाद चखाउनुपर्ने हुन्छ । अनि मात्र उसको इमान्दारिताको परीक्षण हुनेछ । हिजोअस्ति ठूला र क्रान्तिकारी कुरा गर्नेहरू अहिले कस्तो अवस्थामा पुगेका छन् भनेर धेरै परसम्म खोजी रहनुपर्दैन । केही दिनअघि मात्र एक जना स्वनामधन्य क्रान्तिकारीको दुर्घटना भयो । एउटा विवादास्पद सीआईएको ट्वाइलेटमा उनको देब्रे खुट्टो चिप्लियो र उनी त्यहाँ लडे । उनको पुर्पुरो ठोक्कियो, घाउचोट लाग्यो, अस्पताल भर्ना गरी उपचार गरेर घर फर्किए ।
वैभव सिंहले सबैका आँखा खोलेका थिए कि त्यस्ता भद्र व्यक्ति पनि सीआईएको एजेन्ट बनेर काम गर्छन् भनेर । उनले त्यही सम्पर्कका कारण अकूत सम्पत्ति जोडेका थिए । त्यहाँ गएर खुट्टा चिप्ल्याउने नेता पनि कम विवादास्पदचाहिँ होइनन् । उनी जहाँ पुग्यो, त्यसैका हुन् । जे पायो त्यही खाने सर्वहारा हुन् । मान्छे आफैँ बिग्रिँदैन, ऊ संगतले बिग्रन्छ भन्छन् । नारा एउटा दिएर अर्कोतिर कुद्ने यस्ता व्यक्ति कहाँ पुगेर चिप्लिन्छन्, केही ठेगान हुँदैन । उनीहरू कहिले कता एम्बुसमा पर्छन् त कहिले कता चिप्लिन्छन् । यही क्रममा यसपटक सीआईएको ट्वाइलेटमा चिप्लिए । यसअघि रअको दैलोमा एम्बुसमा परेका थिए । मान्छेलाई यस्ता दुर्घटनामा उसैको संगतले पु¥याउँछ । उतिबेलाको एम्बुस र यति बेलाको दुर्घटना संगतकै प्रतीक हुन् ।
अहिले देब्रे खुट्टा मात्र चिप्लिएपछि दाहिने खुट्टा पनि चिप्लिएर बजारिएको भए कस्तो अवस्था आउँथ्यो होला बिचराको ? आखिर अरू कसैले लगेर घचेटेको त होइन नि ! आफ्नै संगतले त्यहाँ पुर्याएको हो, ट्वाइलेटको पनि दोष होइन, आफ्नै टेकाइको दोष हो । दाहिने खुट्टोलाई पनि दोष छैन । उसले पनि टेक्नै पाएको छैन । देब्रे खुट्टोले राम्रोसँग नटेकेर लडाएको हो । दोष उसैको हो । देब्रे खुट्टाले टेक्नुपर्ने ठाउँमा टेक्न छाडेर टेक्न नहुने ठाउँमा टेक्न खोजेपछि त्यो दुर्घटना भएको हुनुपर्छ ।
खानपिनसँग त्यसको उतिविधि सम्बन्ध रहेजस्तो देखिँदैन । त्यस्तो मदहोसी भइसकेको भए होसै हराइसकेको हुने थियो । ‘आफ्नी छोरी नखरमाउली तन्नेरीलाई दोष’ भनेजस्तै भयो । टेक्न नपर्ने ठाउँमा टेक्न खाजेपछि खुट्टो चिप्लनुलाई अन्यथा ठान्नु पनि हुँदैन । गन्तव्य बिर्सिएको यात्रीले बाटोलाई धारे हात लगाएर केही हुँदैन । भारतीय गुप्तचरका अधिकारीका भनाइ यत्रतत्र सार्वजनिक भएकै छन् । रातो टीका लगाएर हिँडे पनि हिन्दुत्वका विरुद्ध काम गरेको कसैबाट छिपेको छैन । ‘जस्तो सिता खाई, उसैको गीत गाई’ भनेको सुनिएकै थियो । अहिले ट्वाइलेटमा चिप्लिनुलाई अनाँैठो मान्नुपर्ने कुनै कारण छैन । आखिर के कुरा छर्लङ्ग हुन बाँकी छ र ? सबै कुरा पारदर्शी नै छन् क्यारे । लाँकुरी झञ्ज्याङको टेरेस रिसोर्टमा को लडेको भन्ने कसलाई थाहा छैन र ?