काठमाडौं । सेयर बजारमा लगानीकर्ताको आकर्षणले गर्दा सेयर कारोबार अत्यधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)मा सेयर बजारमा १५ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । तीन अर्ब ४६ करोड सात लाख कित्ता सेयर किनबेच भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय २९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८०/८१को नौ महिनामा चार खर्ब ७३ अर्ब ६० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । सो अवधिमा एक अर्ब ४१ करोड ३३ लाख ४३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
२०८१ साउनमा नेप्से तीन हजार विन्दुमा थियो । साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेप्से तीन हजार विन्दु पुगेको थियो ।
गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा बढी वित्त समूहको कारोबार हुँदा सबैभन्दा कम उत्पादन र प्रशोधन समूहको कारोबार भएको छ । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूको पाँच सय ५६ प्रतिशत, विकास बैंकको चार सय २४ प्रतिशत, लगानीको तीन सय २९ प्रतिशत, लघुवित्तको दुई सय ८७ प्रतिशत, जलविद्युत्को दुई सय ७५ प्रतिशत, अन्य समूहको दुई ५० प्रतिशत र वाणिज्य बैंकको दुई सय दुई प्रतिशतले कारोबार वृद्धि भएको छ । साथै, म्युचुअल फन्डको एक सय ८७ प्रतिशत, निर्जीवन बीमाको एक सय १८ प्रतिशत, जीवन बीमाको एक सय एक प्रतिशत, व्यापारको ८४ प्रतिशत, होटल तथा पर्यटनको ७७ प्रतिशत, संस्थापक सेयरको ६२ प्रतिशत, डिबेञ्चरको ७२ प्रतिशत र उत्पादन र प्रशोधनको ४१ प्रतिशतले कारोबार वृद्धि भएको छ ।
योसँगै चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा बढी कारोबार जलविद्युत् समूहको हुँदा सबैभन्दा कम डिबेञ्चर समूहको कारोबार भयो । समीक्षा अवधिमा जलविद्युत्को पाँच खर्ब २६ अर्ब, लघुवित्तको एक खर्ब आठ अर्ब, वित्तको एक खर्ब ५५ अर्ब ९३ करोड, वाणिज्य बैंकको एक खर्ब ४९ अर्ब, विकास बैंकको एक खर्ब २६ अर्ब, लगानीको एक खर्ब १५ अर्ब १० करोड अन्य समूहको एक खर्ब एक अर्ब र जीवन बीमाको ८९ अर्ब ३५ करोड बराबर कारोबार भयो । साथै, सोही अवधिमा उत्पादन र प्रशोधनको ६२ अर्ब ५५ करोड, निर्जीवन बीमाको ६२ अर्ब ३० करोड, होटल र पर्यटनको २८ अर्ब ७८ करोड, संस्थापक सेयरको १९ अर्ब ८९ करोड, व्यापारको पाँच अर्ब ३० करोड, म्युअुचल फन्डको तीन अर्ब ८९ करोड र डिबेञ्चरको दुई अर्ब ५३ करोड बराबर कारोबार भयो ।