घोराही (दाङ) । घोराही उमहानगरपालिका–१० नारायणपुरमा १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् ।
तरकारीखेतीमा व्यावसायिक रूपमा लागेको १० वर्ष भएको बताउँदै खड्काले बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गरेको बताए ।
तरकारीखेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको भन्दैै खेती गर्दै जाँदा आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले राम्रो प्रतिफल दिँदै गएको उनले बताए ।
केही वर्ष अगाडि रोल्पामा पनि तरकारीखेती गरेको, त्यहाँ ढुवानी र बजारको समस्या हुने भएकाले दाङमा झरेर थप व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएको किसान खड्का बताउछन् । राप्ती बवई एग्रिकल्चर प्रालिमार्फत सञ्चालन गर्दै आएको खेतीमा उनले बोडी, काक्रा, करेला, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । सानैदेखि नै यही पेसामा लागेकाले आफूले अन्य कामतिर ध्यानै नदिएको र यसमै सन्तुष्ट रहेको उनको भनाइ छ ।