काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकाले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिँदै लगानीको लागि आग्रह गरेको हो ।
नेपालस्थित चिनियाँ तथा बंगलादेशी दूतावासका प्रतिनिधि तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गरे । ‘चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आईटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएको र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासंघ तयार रहेको समेत बताए । यस्तै, उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताको लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताए ।
यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ । छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए । चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्युरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बाउन आफूहरू सधैँ तयार रहेको बताए । उनले दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता समेत जनाए ।
नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कर्मस सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवासाय प्रवद्र्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताए । छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए । यस्तै, अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन् । महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताको लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे ।
वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यति बेला चिनियाँ र बंगलादेशी व्यवसायीको समूह नेपालमा रहेको छ ।