काठमाडौं । राष्ट्र बैंकको तथ्याङ्कले बजारमा वस्तु तथा सेवाको मूल्य वृद्धिदर विगतका वर्षहरूको तुलनामा केही घटेको देखाएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको नौ महिना (साउन–चैत)सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) तीन दशमलव ३९ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा चार दशमलव ६१ प्रतिशत थियो । यो तथ्याङ्कले बजारमा वस्तु तथा सेवाको महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहेको देखाउँछ ।
तथ्याङ्कमा महँगी दर घटेको देखिए पनि आम उपभोक्ताले भने त्यसको अनुभूति गर्न पाएका छैनन् । खासगरी भान्सामा उपभोग हुने वस्तु निकै महँगो बनिसकेको छ । यस्तै, निर्माण सामग्रीको मूल्य पनि महँगीएर छोइन नसक्नु भएको निर्माण व्यवसायीहरू बताउँदै आएका छन् । बजारमा वस्तु तथा सेवा बजारको मूल्य कस्तो छ भनेर जो–कोही सर्वसाधारणलाई सोध्दा पनि एउटै जवाफ आउँछ, बजारमा केही पनि सामान किनिसाध्यै छैन, मूल्यले आकाश छोएको छ । बजारमा यस्तो गुनासो आइरहँदा नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले भने विगतका वर्षहरूको तुलनामा यो वर्ष महँगी दर घटेको छ ।
मुद्र्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको क्रयशक्ति घट्नु हो । मुद्रास्फीतिले देशमा महँगी बढाउने र कृत्रिम अभाव जस्ता समस्याहरू पैदा गर्दछ । मुद्रास्फीति दर घट्नु भनेको विगतमा भन्दा वस्तु तथा सेवाको मूल्यस्तरमा सामान्य वृद्धि भएछ भन्ने हो ।
चैत महिनासम्म खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९० प्रतिशत छ । अघिल्लो वर्षको क्रमशः पाँच दशमलव २२ प्रतिशत र चार दशमलव २० प्रतिशत थियो । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सूचकाङ्क ११ दशमलव ६३ प्रतिशत, दाल तथा गेडागुडीको छ दशमलव ५८ प्रतिशत, फलफूलको नौ दशमलव सात प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव ६५ प्रतिशतले बढेको छ । तरकारीजन्य वस्तुको मूल्य सूचकाङ्क पाँच दशमलव २४ प्रतिशत, मरमसलाको दुई दशमलव ३२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ८९ प्रतिशतले घटेको छ ।
कपडाजन्य तथा जुत्ताचप्पलको मूल्य सूचकांक सात दशमलव शून्य एक प्रतिशत, मदिराजन्य पेयपदार्थको छ दशमलव शून्य सात प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ५९ प्रतिशत र सुर्तिजन्य पदार्थको चार दशमलव ८३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति र चालू खाता बचतमा
तथ्याङ्कअनुसार मुलुकको चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड रुपैंयाँले बचतमा थियो । अमेरिकी डलरमा चालू खाता एक अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा थियो । यस्तै, खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रुपैंयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ७८ करोड थियो ।
शोधनान्तर स्थिति पनि तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति दुई अर्ब ५५ करोडले बचतमा छ । एक वर्षअघि दुई अर्ब ७५ करोड बचतमा थियो ।
झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स आप्रवाह बढेको छ । यस आर्थिक वर्षको नौ महिना (साउन–चैत)सम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा १० खर्ब ८२ अर्ब ६२ ककरोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह सात दशमलव तीन प्रतिशतले बढेर आठ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव दुई प्रतिशतले बढेको थियो ।
विदेशी विनिमय सञ्चिति
विदेशी मु्द्राको सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति यस आर्थिक वर्षको नौ महिनामा १८ दशमलव नौ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ ।
राष्ट्र बैंकले नौ महिनाको आयातलाई आधारमान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ महिना तीन दिनको वस्तु आयात र १४ महिना छ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
सेवा आय घाटामा
समीक्षा अवधिमा खुद सेवा आय ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ७३ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव पाँच प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० अर्ब ७७ करोड रुपैयाँ थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई एक खर्ब ७० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय एक खर्ब तीन अर्ब ८४ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ४३ अर्ब २२ करोड रहेकोमा शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ थियो ।