काठमाडौं । एनएमबी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेस्ट बैंक तथा डायनामिक हाइड्रो इनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबी बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत् आयोजनाको करिब लागत सात अर्ब रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पाँच अर्ब २५ करोड रहनेछ ।
साथै, एनएमबी बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजना (दुई मेगावाट)को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । दुई मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबी बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबी बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल इनर्जी बैंकिङ तथा डायनामिक हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौता–पत्रमा हस्ताक्षर गरे । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले एनएमबी बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । साथै, मोहन विक्रम कार्कीले एनएमबी बैंकसँग यस परियोजनासहित आठ वटा परियोजनाका लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । एनएमबी बैंले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।