काठमाडौं,‘धोकेबाज जिन्दाबाद’ भनेर कसैले भन्दैन तर हाम्रो समाज अहिले विकृत बनिसकेको छ । जतात्यतै धोकेबाज र बेइमानहरूको बोलवाला छ । जतात्यतै त्यस्तै मात्र मान्छे भेटिन्छन्, देखिन्छन् । समाज त्यस्तैले भरिएको छ । यता हेरे पनि धोकेबाज, उता हेरे पनि धोकेबाज !इन्क्लाब जिन्दाबाद ! भन्ने मुखले धोकेबाज जिन्दाबाद ! भन्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय हाम्रो समाजमा इमान–जनमानको खडेरी परेको छ । जतात्यतै बेइमानी र विकृति मौलाएको छ ।
इमान–जमानका कुरा गर्नेहरू समयअनुसार चल्न नजान्ने हुतिहारा र लाछी मानिन थालेका छन् । तलमाथि, सानाठूला भनाउँदा सबैतिर यस्तै छ । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन यहाँ । जसले हान्यो उसले जान्यो भनिन्छ । इमान–जमान मासिएपछि बेइमानी र धोकाधडी आमजीवनशैली बन्दै जान लागेको छ ।
जसले सक्यो उसले धोका दिने चलन बसेको छ । उसले उसलाई धोका दिन्छ, त्यसले फेरि अर्कोलाई धोका दिन्छ । पहिलो धोकेबाज र पछिल्लो धोकेबाज मिलेर अर्कोलाई धोका दिन्छ । अहिले यही धोकाधडीको सांग्रिला बन्दै गएको छ ।यसले सिंगो समाजलाई धोकाको भकारी बनाएको छ । तिर्न नसक्नेले ऋण लिन्छ, ऋण तिर्दैन, ऋण तिर्न चेक साटिँदैन । चेक नसाटिएपछि मिटरब्याज लाउनेले चेक बाउन्स गर्छ, त्यसको कम्पनी र कारोबार कालोसूचीमा पर्छ ।
मिटरब्याजको कमाइ खर्च गरेर त्यसलाई समातेर थुनिदिन्छ । थुनेर पैसा आउँदैन आफूले तिर्नुपर्ने ठाउँमा तिर्न सक्दैन । उसले पनि व्यालेन्स नभएको चेक दिन्छ, त्यो पनि साटिँदैन । उसले पनि ब्यालेन्स नभएको चेक दिन्छ, त्यो पनि साटिँदैन । उसै पनि कालोसूचीमा पर्छ, चेक बाउन्समा समातिन्छ ।
उसलाई ऋण लगानी गर्नेको पनि त्यही हालत हुन्छ । सहकारी लघुवित्त वा मिटरव्याजको यो चक्र यसैगरी लम्बिँदै गएको छ । उसैसँग ऊ भागेको, त्योसँग अर्को भागेको छ, प्रहरी प्रशासनमा लगानी गरेर एउटा समातिएपछि अर्कोसँगै अरू पनि तानिएका हुन्छन् । उता कालोसूचीमा पर्नेहरूको लर्को, अर्कोतिर चेकबाउन्स हुनेहरूको ताँती, अनि जेल भराऊ अभियान हुने गरेको छ ।
समाजमा विकृति विसंगतिको हावा चलेपछि कसैलाई छुने, कसैलाई नछुने कुरै भएन । कोरोनाजस्तै सबैतिर फैलिएको छ । उद्यमी व्यापारीहरूमा पनि त्यस्तै छ, राजनीतिक दलहरूमा त्यही रोग सरेको छ । सरकार त झनै ग्रस्त बनिसकेको छ । अब माथिबाट अर्थात् सरकार गठन र विघटनको स्तरबाट धोकेबाज मुर्दाबादको नारा नलाग्दासम्म समाजमा त्यो नारा प्रवेश गर्ने छैन र सबैतिर धोकेबाज जिन्दाबादकै नारा घन्किरहने छ ।
अहिलेसम्म एकजना नेताबाहेक कसैले पनि धोकेबाज मुर्दाबाद भन्न सकेका छैनन् । धोकेबाज होस् कि जस्तोसुकै होस्, उसको समर्थन लिएर सरकारमा जान दौडिरहेका छन् र धोकेबाज जिन्दाबाद भनेर भनिरहेका छन् । जबकि धोकेबाज मुर्दाबाद भनेर भनिनुपथ्र्यो । त्यसरी मुर्दाबाद भन्ने आँट किन गर्न सरिहेका छैनन् शीर्ष नेताहरूले ? किनभने उनीहरूको मनमा लोभ टाँसिएको छ । त्यही लोभले यसरी बिलाप गराएको हो ।
शेरबहादुर देउवाले धोकेबाज मुर्दावाद भनिसकेपछि पनि प्रचण्ड किन लिपिक्क गरिरहेका छन् त्यही शेरबहादुरको नाममा ? उनी किन भन्न सक्दैनन् कि धोकेबाज मुर्दाबाद भनेर ? अथवा प्रधानमन्त्री केपी ओलीले त्यही कुरा भन्ने आँट किन गर्न सकिरहेका छैनन् ? उनले पनि प्रचण्ड र माकुनेबाट धोका नपाएका होइनन् ? त्यस्तै धोका त रेशम चौधरीले रञ्जिता श्रेष्ठबाट पनि पाएका छन्, उपेन्द्र यादवले पनि अशोक राईबाट पाएका छन् ।
महन्थ ठाकुरले राजेन्द्र महतोबाट पाएका छन् ।
कमल थापाबाट पनि राजेन्द्र लिङ्देलले पाएकै हुन् । उनीहरू पनि किन धोकेबाज मुर्दाबाद भन्न सक्दैनन् ? किनकि उनीहरू लुट्ने आसमा बाँचेका छन् । त्यसो होइन भने उनीहरूले भन्न सक्नुपर्छ कि धोकेबाज मुर्दावाद भनेर अनि मात्र राजनीति सङ्लिने छ र समाजमा फैलिएको धोकेबाजहरूको दूषित हावा बडारिने छ । होइन भने यो झनै बढ्दै जानेछ र यहाँ विश्वास गर्न लायक कोही बाँकी रहने छैनन् । समाजमा नारा लागि रहने छ, धोकेबाज जिन्दाबाद !