काठमाडौं, स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले निर्मलराज पौडेललाई उन्मुक्ति दिएको छ । तीन हजार जनाभन्दा बढी बचतकर्ता रहेको कालीमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष समेत रहेका पौडेलविरुद्ध पनि बचतकर्ताहरूले उजुरी दिएका थिए । तर प्रहरीले घोटालामा जोडिएका अन्यविरुद्ध मुद्दा दायर गरे पनि पौडेललाई भने सोझै उन्मुक्ति दिएको पाइएको छ ।
सहकारीमा दुई अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा अरूसँगै पौडेलको पनि संलग्नता रहेको बचतकर्ताको आरोप छ । तर जीबी राई र रवि लामिछानेलगायत केही व्यक्तिविरुद्ध मात्र मुद्दा चलाएर पौडेलमाथि छानबिन नै नगरी उन्मुक्ति दिएपछि उजुरीकर्ताहरू आक्रोशित भएका छन् ।
पौडेल २०६९ कात्तिक १९ गते सहकारीको अध्यक्ष बनेका पौडेल २०७१ असोज २९ सम्म सहकारीको अध्यक्षका रूपमा थिए । उनले पदीय दुरुपयोग गरेको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको थियो र उनको ठाउँमा कल्पना श्रेष्ठलाई अध्यक्ष बनाइएको थियो ।
सोही सहकारीमा त्यसको दुई कार्यकालपछि अध्यक्ष बनेका गितेन्द्र बाबु (जीवी) राई अहिलेसम्म उक्त सहकारी ठगीको आरोपमा फरार छन् । सोही सहकारी ठगीमा जोडिएका पूर्वगृहमन्त्री रवि लामिछाने यतिबेला रुपन्देही कारागारमा छन् । तर सोही सहकारी घोटालामा जोडिएका निर्मलराज पौडेललाई चाहिँ सरकारले छानबिन नै नगरी उन्मुक्ति दिएको छ ।