काठमाडौैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालि मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्न लागेको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले अब मनसुन भित्रिने समय नजिक आइरहेकाले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माणलाई तीव्रता दिइएको जानकारी दिए । मस्यौदा बनाएर विगतको तुलना गर्दै आगामी दिनमा हुनसक्ने जोखिमलाई समेत आकलन गरेर कार्ययोजना निर्माण भइरहेको उनले बताए । गएको हप्ता गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औँ बैठकले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा कार्ययोजनालाई अन्तिम रूप दिन निर्देशन दिएअनुसार नै कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
कार्यकारी समितिका अध्यक्ष गृहमन्त्री रमेश लेखकले विगतमा भएका मनसुनजन्य विपद्का कारण सिर्जित जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि कार्ययोजना बनाउन प्राधिकरणलाई निर्देशन दिएका थिए । कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई आवश्यक तयारी गर्न समेत बैठकले निर्देश गरेको थियो ।
यस्तै, निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं ३, ८, ९ र १० का बस्तीलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको प्रवक्ता केसीले बताए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि उक्त सिफारिस गरिएको हो । पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात्को पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना) योजना कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरपरिवारको तदारुकताका साथ कार्यसम्पन्न गर्ने प्रक्रिया समेत अघि बढाइएको प्राधिकरणले जनाएको छ ।