काठमाडौं । संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको बुँदा नं. ६५ संस्थागत सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयको समेत सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याइने उल्लेख गरिएको छ । अहिले यस कार्यक्रमको पक्ष र विपक्षमा बहस चुलिएको छ । सामुदायिक विद्यालयका पक्षधरहरूले यसको कटु आलोचना गरेको देखिन्छ । यी दुवै खाले विद्यालयहरू सरकारको नीति निर्देशनमा सञ्चालित रहेको वास्तविकता हो । त्यस्तै, सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको उपलब्धिस्तर उच्च रहेको यथार्थ नकार्न सकिन्नँ । संस्थागत विद्यालयको उपलब्धिस्तर तुलनात्मकरूपमा राम्रो भएकै कारणबाट अधिकांश सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकले यथाशक्य संस्थागत विद्यालयमा बालबालिका पढाएका छन् ।
अपवादका रूपमा रहेका केही सामुदायिक विद्यालयबाहेकमा विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेका छन् । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि विभिन्न विकल्पमध्ये सामुदायिक संस्थागत विद्यालयबीचको साझा प्रयासको रूपमा यो सहकार्यको नीति आएको हुनुपर्छ । अर्कोतर्फ अन्य क्षेत्रमा अभ्यास हुँदै आएको सार्वजनिक निजी साझेदारी कार्यक्रमको मर्मअनुसार पनि यो नीति अवलम्बन गर्न खोजिएको हुन सक्छ ।
अहिले पनि देशका विभिन्न विद्यालयबीच मितेरी साइनो कायम गर्दै परस्पर सहयोग र साझेदारी कार्यक्रम गर्दै आएका उदाहरण पनि पाइन्छन् । यस अर्थमा सामुदायिक विद्यालयको गुणस्तर उकास्न सक्षम र प्रतिबद्ध संस्थागत विद्यालयसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्नु, समसामयिक कदम मान्न सकिन्छ । यस्ता कार्यक्रमको महत्व, औचित्य र आवश्यकतालाई विद्यालयबीचको मितेरी सम्बन्धको रूपमा स्वामित्व लिएर परिचालन गर्ने रणनीति भएमा अझ सार्थक हुनसक्छ ।
नेपाली समाजमा मानवीय सु–सम्बन्ध कायम राख्न र निःस्वार्थपूर्वक परस्पर साथ सहयोग गर्न मितेरी साइनो एक सशक्त माध्यमको रुपमा प्रयोग हुँदै आएको छ । मितेरी साइनो सामान्य साथीको एकअर्काप्रति गर्ने सद्भाव आदर सम्मान विश्वासभन्दा बढी जिम्मेवार र दिगो हुन्छ । मित लगाउन जात, धर्म, वर्ण, लिङ्ग, सम्पन्न विपन्न आदि कुनै किसिमको मूल्य र मान्यताले छेक्दैन । अझ समानभन्दा पनि असमानस्तर र परिस्थिति भएका व्यक्तिहरूबीच मित लगाउने प्रचलन बढी पाइन्छ । विपरीत मूल्यमान्यता जीवनशैली भएका व्यक्तिबीच मितेरी साइनोमार्फत एक अर्काको धर्म र मर्म बुझ्ने माध्यमको रूपमा पनि लिन सकिन्छ । अतः यस साइनोले ‘बशुधैव कुटुम्बकम्’ वा सबैलाई समान दृष्टिले हेर्ने र समतामूलक समाजको स्थापना गर्न प्रभावकारी सहयोग पु¥याउँछ । यसप्रकार मितेरी साइनोको विशिष्ट महत्वलाई अहिलेको वैमनष्यता, द्वन्द्व, एकाङ्गीपन वा व्यक्तिवादी सोच झाँगिदै गएको परिस्थितिमा हामीले मितेरी कार्यक्रम कुुन कुन क्षेत्रमा कसरी लागू गर्न सकिएला ? शिक्षण संस्थाहरूमा सहकार्य अवधारणाको प्रयोग कसरी गर्न सकिएला ? सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ ।
अहिले सामुदायिक विद्यालयमा हँुदा खाने र संस्थागत विद्यालयमा हुने खानेका छोराछोरी पढ्ने शिक्षण संस्थाको रूपमा जनमानसले बुझेको पाइन्छ । त्यस्तै, संस्थागत र सामुदायिक विद्यालयबीचको संस्थागत, एंव कार्यरत मानवीय पक्षबीचको समझदारी र दृष्टिकोणमा पनि सकारात्मक सोचको विकास गराउनुपर्ने खाँचो खट्किएको टड्कारो देखिन्छ । त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सामाजिक, सांस्कृतिक, पारिवारिक पृष्ठभूमिमा विविधता पाइन्छ । दुवैखाले विद्यार्थीबीचमा हेलमेल बढाउन उनीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन उचित वातावरण सिर्जना पहिलो सर्त हो ।
सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकको योग्यता, अनुभव, तालिमको अवस्था र पेशागत सुविधा, सुरक्षा संस्थागत विद्यालयको भन्दा सुदृढ पाइन्छ । शिक्षामा गरिएको लगानीको औचित्य पुष्टि गर्ने मुख्य आधार विद्यार्थीको उपलब्धिस्तर हो । एसईई तथा कक्षा ८को पालिकास्तरीय परीक्षाको नतिजाअनुसार विद्यार्थीको प्राप्ताङ्क अधिकांश विषयमा ५० प्रतिशतको हाराहारीमा छ भने विद्यालय आफैँले सञ्चालित परीक्षाको उत्तीर्ण प्रतिशत सरदर ८० मात्र छ । पूर्णाङ्क हासिल गर्नु त आकाशको फल वा तारा खसाल्नु जत्तिकै छ भन्ने तथ्य वर्षै शिक्षण गरेका शिक्षकहरूले हजारौँ विद्यार्थी पढाउँदा एकजनालाई पनि पूर्णाङ्क नदिने अधिकांश शिक्षक पाइन्छ । कहिल्यै कुनै विद्यार्थीले पूर्णाङ्क नपाउनुमा कसको दोष हो ? नीति निर्माता वा कार्यान्वयनकर्ता वा विद्यार्थी ?
अहिले नेपालमा छ हजारको हाराहारीमा संस्थागत विद्यालय र २८ हजारको हाराहारीमा सामुदायिक विद्यालयहरूमा लगभग ७० लाख विद्यार्थीहरू छन् । जसमध्ये २० प्रतिशत संस्थागतमा र ८५ प्रतिशत विद्यार्थीहरू सामुदायिकमा पर्छन् । त्यस्तै, शिक्षक कर्मचारीको संख्यात्मक अवस्था पनि दुई लाखभन्दा बढी छ । अझ अभिभावक समेत जोड्ने हो भने लगभग सबै नेपाली परिवारमा विद्यालयको सम्पर्क र सम्बन्ध हुन्छ भन्न सकिन्छ । यति ठूलो झाँगी सञ्जाल भएको विद्यालयहरू बीचमा स्वस्थ प्रतिष्पर्धा कायम गर्दै गुणस्तरीय पौरखी शिक्षा हासिल गर्ने थलोको रूपमा विद्यालयलाई स्थापित गर्नु आजको आवश्यकता हो ।
तसर्थ, सामुदायिक विद्यालयमा राज्यले लगानी गरेको अनुदानमध्ये ८२ प्रतिशतभन्दा बढी शिक्षक तलव भत्तामा खर्च हुन्छ । शैक्षिक सामग्री बालमैत्री शिक्षणका लागि अपरिहार्य छ तर बजेट छैन । त्यसकारण संस्थागत वा छिमेकी विद्यालयसँग सम्वन्ध विस्तानर गरेर साधन स्रोतलाई साझारूपमा प्रयोग गर्न वातावरण वनाउनु उदाहरणीय काम हुन सक्छ । पुस्तकालय, प्रयोगशाला, खेलकुदलगायतका सामग्री र क्रियाकलाप साझारूपमा सञ्चालन गर्न सकिन्छ । सामुदायिक संस्थागतबीच हातेमालो गर्दै विद्यालयमा उपलब्ध साधन स्रोतलाई अधिकतम प्रयोग गर्ने मूल उद्देश्य राखेर मितेरी साइनोको नीतिलाई अवलम्बन गर्न सकिन्छ ।
लामो इतिहास बोकेको सामुदायिक विद्यालयको परिपक्व एवं खारिएको अनुभव छ । नवीनतम चुस्त व्यवस्थापकीय पक्ष अँगालेर समयसापेक्ष शिक्षा दिई अभिभावकको मन जित्ने सफल संस्थागत विद्यालयबीच विविध कौशलतालाई आदान, प्रदान गर्ने सहज वातावरण सिर्जना गर्न सकिएमा वर्तमान शैक्षिक विसंगति र अभाव अवस्था सुधार गर्न टेवा पुग्न जान्छ । यस प्रकारको मितेरी साइनोबीच विद्यालयहरूको बीचमा सुमधुर सद्भावयुक्त सम्बन्ध कायम गर्ने हेतु जिल्ला शिक्षा कार्यालय ललितपुरले यो अवधारणाको कार्यान्वयनको लागि सरोकार पक्षलाई प्रेरित गर्ने नीति लिएको छ । मितेरी सम्बन्ध भएका विद्यालयका विद्यार्थी शिक्षक व्यवस्थापकीय पक्षहरू मात्र नभएर अभिभावकसम्मलाई आपसमा सद्भाव सहकार्य सद्विचारलाई अझ परिष्कृत परिमार्जित गर्दे विद्यालयप्रति अपनत्वको भावना बढाउन सकेमा शिक्षाको विकास र विस्तारमा अहम् भूमिका खेल्ने अपेक्षा गर्नु अन्यथा नहोला । सबैका लागि शिक्षा र शिक्षाका लागि सबै भन्ने आजको आवश्यकतालाई सार्थक बनाउन समेत यस प्रकारको नीतिले योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
निजी लगानीमा सञ्चालित संस्थागत विद्यालय र सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित सामुदायिक विद्यालयको समानुपातिक विकास गर्न सरकारलाई समेत चुनौतीको विषय बनेको छ । सरकारले शिक्षामा गरेको लगानीअनुसार प्रतिफल नआएको तथ्यलाई नकार्न सकिन्नँ । शिक्षक दरबन्दीलाई व्यवस्थित गर्न अझ नसकेको अवस्था छ । तालिम प्राप्त र पूरा दरबन्दी भएका स्वीकृत विद्यालयको भन्दा दरबन्दी कम भएका विद्यालयको उपलब्धिस्तर उच्च भएको तथ्याङ्कले पुष्टि गरेको छ । त्यसकारण सरकारी नीति नियमको कार्यान्वयनको अनुगमन मात्रैले पनि गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिँदोरहेनछ । पेशागत मर्यादा, समर्पण, त्याग र जवाफदेहिता कुनै पनि संस्था आफ्नो उद्देश्यमा पुग्न सक्छ । त्यसमा सरोकारवालको चिन्ता, चासो र लामो तपस्याले पनि अहम् भूमिका खेल्छ । स्थानीय समुदायमा सञ्चालित छिमेकी विद्यालयहरू बीचको संस्थागत र सामुदायिक वा सामुदायिक सामुदायिक, संस्थागत संस्थागतबीचमा साधन, स्रोत जुटाउने र परिचालन गर्ने काममा होस् वा मानवीय सम्बन्धलाई सुमधुर र प्रगाढ बनाएर शैक्षिक समस्या र चुनौतीलाई सहकार्यको माध्यमबाट सहजरूपमा समाधान गर्नका लागि पनि मितेरी सम्बन्ध फलदायी हुनेछ ।
सामुदायिक र निजी संस्थागत विद्यालयमा पढ्ने र पढ्न पठाउने विद्यार्थी अभिभावकबीचमा प्रतिष्ठाको विषय बनाउने मनोवैज्ञानिकतालाई चिर्दै सामाजिक सद्भाव वर्तमान र भविष्यमा समेत राख्नका लागि पनि मितेरी साइनोले अहम् भूमिका खेल्नेछ । मितेरी साइनोको परिभाषाभित्र ठूलो सानोको स्थान हुँदैन । तसर्थ, यो अवधारणालाई सरकारी, गैरसरकारी संघसंस्था एवं पेशागत संघसंस्थाहरूबाट पनि उदारतापूर्व सकारात्मक सोच राखेर कार्यान्वयन गर्नेतर्पm उत्सुकता देखाएमा शिक्षाका विकृति विसंगतिलाई न्यूनीकरण गर्दै स्वस्थ र स्वच्छ वातावरणमा विद्यालय चल्न मद्दत पुग्ने तथ्यलाई नकार्न सकिन्नँ ।
विद्यालयलाई साधनस्रोत सम्पन्न बनाउँदै समानुपातिकरूपमा फस्टाउनका लागि पनि परस्पर सहयोगको महत्व रहन्छ । यसप्रकार विद्यालय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापना गरी सरोकारवालाको आस्था र विश्वास जित्नको लागि पनि स्वःस्फुर्त मितेरी सम्बन्धले विद्यालय शिक्षामा उदाहरणीय सकरात्मक परिवर्तन ल्याउने अपेक्षा गर्नु अन्यथा नहोला । तसर्थ, जिल्ला शिक्षा कार्यालयहरूले विद्यालयमा मितेरी साइनो विस्तार र विकास गर्न शिक्षक र सञ्चालकहरूको आबद्ध संघसंगठन तथा प्याब्सन, एन प्याबसनजस्ता पेशागत संघसंस्थाहरूसँगको सहकार्यबाट विद्यालयको मितेरी साइनो सार्थक हुने यथार्थता हो ।
संस्थागत विद्यालयका विद्यार्थी उपलब्धिले सामुदायिकलाई उछिनेको पाइन्छ । यसका विविध कारण हुन सक्छन् । जसको श्रेय संस्थागत विद्यालयको चुस्त, दुरुस्त र जवाफदेही व्यवस्थापनलाई दिन सकिन्छ । दुवैखाले विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, अभिभावक एवं व्यवस्थापकीय पक्षबीच सुमधुर सम्बन्ध स्थापित गर्दै परस्पर हितका लागि अनुभव, साधन र स्रोतको तर्जुमा एवं प्रयोग गर्ने माध्यमका रूपमा मितेरी साइनोलाई प्रयोग गर्न सकिन्छ । जस्तै पढाउने शैलीको साटफेर, अतिरिक्त क्रियाकलापमा सहकार्य, विद्यालयको कार्यक्रम स्वयंसेवक वार्षिकोत्सव अभिभावक दिवस, समुदायको चाडपर्व एवं सामाजिक कार्यक्रम शिक्षक विद्यार्थीबीच संयुक्त सहकार्य गर्दै विद्यालय तथा अन्ततोगत्वा समतामूलक आदर्श समाजको स्थापना गर्नु मितेरी अवधारणाको लक्ष्य रहेको छ । त्यस्तै, एकअर्काप्रति सम्मान र सद्भाव कायम राख्दै सामाजिक मूल्य र मान्यताको रक्षा गर्दै समाजमा सफल र सवल नागरिक उत्पादन गर्न पनि यसले अहम् भूमिका खेल्नेछ ।