काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार अध्यक्ष मनोहर दास मूलको सभापतिमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा कम्पनीका अध्यक्ष मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को व्यवसायलगायतका अन्य कामकारबाहीको बारेमा सेयरधनीलाई विस्तृतरूपमा जानकारी गराए । कम्पनीले यस आव २०८०/८१ मा चार दशमलव ७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जुन गत आव २०७९/८० वर्षको तुलनामा चार प्रतिशतले वृद्धि हो । साथै, गत आवको तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी गत आर्थिक वर्षको दाबी भुक्तानी दुई दशमलव ३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा दुई दशमलव ८३ अर्बको दाबी भुक्तानी गरेको छ । आउँदो आर्थिक वर्षहरूमा पनि ग्राहकलाई उच्च सेवा तथा प्रतिफल दिने लक्ष्यसहित कम्पनी अगाडि बढेको विश्वास दिलाए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सञ्चालक समितिको बैठकभत्ता वृद्धिलगायत सामाजिक उत्तरदायित्वअन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना सेयरधनीहरूले आ–आफ्नो धारणा राखेका थिए ।