काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताएका हुन् । उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने बताए । प्रधानमन्त्री ओलीले भारत–पाकिस्तानबीचको द्वन्द्व नेपालसहित अन्तर्राष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरूप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकोमा खुसी व्यक्त गरे । केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसंग उल्लेख गर्दै उनले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए ।
‘हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ । उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो’, प्रधानमन्त्री ओलीले भने । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उनको भनाइ थियो । ‘बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ’, उनले भने । विश्वमा युद्ध होडबाजीका नाममा ठूलो संख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उनले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताए । यस खालका खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने उनको भनाइ छ ।
शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको उनले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ थियो । बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै उनले बुद्धका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । बुद्धका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उनले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले बुद्धको जन्मथलोको विकासमा योगदान गर्ने सबैलाई स्मरण गर्दै लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पुर्याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गरे । गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र गुरुयोजना यथासक्य छिटो सम्पन्न गर्नेगरी काम अघि बढाइने उनले प्रतिबद्धता समेत जनाए । बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै उनले त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गरे । भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गरेको पहिलो दस्तावेज अहिले पनि भारतको पटना संग्रहालयमा रहेको प्रधानमन्त्री ओलीले बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डे लुम्बिनीमा बनेको ध्यान केन्द्र हलको ‘साउन्ड सिस्टम’लाई व्यवस्थित गर्न सरकारले काम अघि बढाएको बताए । आगामी बुद्धजयन्ती अगावै व्यवस्थित हुने उनले जानकारी दिए । लुम्बिनी गुरुयोजना पूरा गर्न तथा लुम्बिनीका साथै बृहत्तर लुम्बिनी क्षेत्रको विकास योजना लागू गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
यस्तै, उनले गौतमबुद्ध विमानस्थलसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार तत्परताका साथ लागेको बताए । यसका लागि आगामी जेठ ७ गते यस विषयमा सरोकारवाला निकायसहितको बृहत् छलफल आयोजना गर्ने र त्यस छलफलबाट प्राप्त रायसुझावका आधारमा आवश्यक निर्णय गर्ने पक्षमा सरकार रहेको जानकारी दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्व दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै आजको दिनमा बुद्ध शिक्षालाई अझ व्यापक बनाउन जरुरी रहेको बताए । लुम्बिनी विश्वको आस्थाको केन्द्र भए पनि यहाँ पर्यटक ल्याउनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमितरूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले हिंसा र द्वन्द्व अन्त्य गर्न तथा बुद्ध दर्शनको सन्देश विश्वव्यापीरूपमा फैल्याउन जरुरी रहेको बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच ऐतिहासिक, पुरातात्विक र संस्कृतिक सम्बन्ध रहेको कुरा भगवान् गौतमबुद्धको जन्मदेखि परिनिर्माणसम्मको इतिहासले स्पष्ट पारेको बताए ।