काठमाडौं । ‘तक्मे बुढा’ को नामले चर्चित हास्य कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
काठमाडौंको होटेल याक एन्ड यतिमा सोमबार आयोजित एक समारोहकाबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’को रूपमा सार्वजनिक गरेको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ‘तोक्मा एप’को औपचारिक सेवा सुरु गरेको छ । तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड–सेयरिङ, केयरगिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्ने जनाइएको छ । साथै, तोक्मा टेक्लोनिजले डिजिटल बिजनेस कार्ड ‘जी–कार्ड’ पनि सार्वजनिक गरेको छ ।
ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि अभिनेता राईले विदेशी एपहरू पैसा तिर्दै चलाइरहँदा हाम्रो पैसा बाहिर गइरहेको अवस्थामा तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए । तोक्माका सीईओ सागर आङदेम्बेले तोक्मा नामबारे समेत स्पष्ट पार्दै तोक्मा हिमालको जीवनशैली जोडिएको नाम भएको बताए । ‘यो पदयात्रीहरूको साहाराको रूपमा रहेको एक लठ्ठी हो, यो शक्ति सन्तुलनको प्रतीक हो’, उनले भने ‘तोक्मा एप पनि मानिसको जनजीवन सहज बनाउने सहारा हो । हामीले एउटै एपमा धेरै कुरा समेट्ने प्रयास गरेका छौँ । यसको उद्देश्य भनेको नेपालभित्र र बाहिरका पर्यटकहरूलाई सुरक्षित सेवा प्रदान गर्नु र रोजगारीको सिर्जना गर्नु हो ।’
तोक्मा टेक्नोलोजिजका सह–संस्थापक सन्चमान राईले संसारका धनी देशहरूले साना देशहरूमा प्रविधि बेचिरहेको अवस्थामा आजकल स–साना देशहरूले आफ्नो आवश्यकताअनुसारको आफ्नै प्रविधिमा काम गरिरहेका छन्, त्यसकै एउटा उदाहरण तोक्मा एप रहेको जनाए । साथै, राईले अहिलेसम्म कागजी बिजनेस कार्ड चलिरहेको अवस्थामा अब ‘जी–कार्ड’ले डिजिटल बनाउने र यो कार्ड आवश्यकताअनुसारको परिमार्जन गरी चलाउन सकिने बताए । राईले लगभग तीन वर्ष अनुसन्धान गरेर तोक्मा एप ल्याइएको जनाए । विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङले यो एप दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने रहेको बताए । उनले पर्यटन तथा सहयोग आवश्यकता रहने व्यक्तिहरूलाई यसले सहयोग गर्नुका साथै देशमै रोजगारी सिर्जना गर्नलाई यसले ठूलो भूमिका खेल्ने बताए ।