कलैया (बारा) । कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
उनले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउँदै मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिए ।
खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सोमबारदेखि आयोजना सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार खपरताता खानेपानी आयोजना विधिवत् रूपमा सञ्चालन गरिएसँगै यहाँका नागरिकहरूमा खुशीयाली छाएको छ ।