विराटनगर । कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् । कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको गृहमन्त्री लेखकले स्पष्ट गरे । उनले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए । सबै व्यक्तिको मानवअधिकार लोकतन्त्रमा सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उनले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । फरक प्रसङ्गमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानुनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको बताए। नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कैदीबन्दीको श्रमको सदुपयोगसहित मानवअधिकारको पक्षमा सरकार रहेको स्पष्ट गरे । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता व्यक्त गरे ।