काठमाडौं । नेपाल कृषिप्रधान देश हो । जहाँ करिब ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । यहाँ विभिन्न प्रकारका फलफूल, अन्नबाली र नगदे बालीको खेती गरिन्छ । त्यस्तै, नगदे बालीमध्ये खर्बुजा (तरबुजा) पनि एक महत्वपूर्ण फल पनि हो । यसको खेती नेपालको तराई, भित्री मधेश र मध्यपहाडी क्षेत्रमा व्यापकरूपमा गरिन्छ । यो गर्मी भगाउने खर्बुजा स्वादिष्ट, पौष्टिक र गर्मीमा शरीरलाई चिसो पार्ने गुण भएको फल पनि हो । यसले किसानहरूलाई छिटो र न्यून लागतमा राम्रो आम्दानी दिन सक्ने क्षमता राख्छ । जुन खर्बुजा खेती नेपालमा एक महत्वपूर्ण व्यावसायिक खेतीको रूपमा लोकप्रिय हुँदै गएको छ । यसले कृषकलाई राम्रो आम्दानीको अवसर प्रदान गर्ने भएकाले व्यावसायिक उत्पादनतर्फ आकर्षण बढ्दो छ । यसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यस अर्थमा भन्ने नै हो भने खर्बुजाको खेती गर्ने विधि, व्यवस्थापन, चुनौती र आयस्रोतका बारेमा विस्तृत चर्चा गरिएको छ ।
हाम्रो देशमा खर्बुजाको बजार माग सिजनअनुसार परिवर्तन हुने गर्छ । जसमा गर्मी मौसममा यसको माग उच्च हुने गर्छ, विशेषगरी काठमाडौं उपत्यकामा नेपाली खर्बुजा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले स्थानीय बजारमा यसको बिक्री राम्रो हुने गर्छ । तर सिजन सकिएपछि भारतीय खर्बुजा बजारमा हाबी हुने सम्भावना रहन्छ । यो आर्थिक मन्दीका कारण माग केही घटेको भए पनि उपभोक्ताहरू ताजा फलफूलको खोजीमा रहन्छ । देशमा खर्बुजा मुख्यतः गर्मी याममा खपत हुने फल हो । यसको उच्च पौष्टिक महत्वका कारण यसको माग उच्च रहन्छ । यसको साथसाथै औद्योगिक खेती गर्दा राम्रो आम्दानी गर्न सकिने भएकाले धेरै कृषक यसको व्यावसायिक खेतीमा संलग्न भएका छन् । यहाँको जनसंख्याको ठूलो हिस्सा खेतीमा आश्रित छ । यसमा पनि भन्ने नै हो भने बदलिँदो वातावरण, जलवायु परिवर्तन र प्रविधिको प्रयोगसँगै नेपाली कृषि पनि क्रमशः व्यावसायिकतातर्फ उन्मुख हुँदै गएको छ । आजका दिनमा परम्परागत अन्न खेती मात्र नभई फलफूल खेती पनि निकै प्रचलनमा आउन थालेको छ । यस्तै, फलफूलमध्ये खर्बुजा एक प्रमुख मौसमी फल हो । जसको खेतीले कृषकलाई राम्रो आम्दानी दिने सम्भावना राख्छ । वस्तुतः खर्बुजाको सिजनल खेती, न्यून लागत, कम समयमै उत्पादन तथा बजारमा माग बढ्दो रहेको सन्दर्भमा यसको खेती नेपाली किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ ।
खर्बुजाको उत्पादनलाई अवलोकन गर्ने हो भने एक हेक्टर जमिनमा खर्बुजाको राम्रो व्यवस्थापन गरिएमा २० देखि २५ टनसम्म उत्पादन लिन सकिन्छ । यसर्थ, उचित हेरचाह र सिँचाइ व्यवस्था भएमा उपज अझै बढ्न सक्छ । जुन खर्बुजाको उत्पादन ६० देखि ८० दिनमै लिन सकिन्छ । त्यस्तैगरी बजारको अवस्थालाई हेर्ने हो भने पनि मुलुकमा विशेषतः चैतदेखि असारसम्म खर्बुजाको माग अत्यन्तै बढ्छ । यसमा पनि प्रमुख सहरहरू काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, विराटनगरजस्ता सहरी क्षेत्र खर्बुजाको ठूलो बजार हुन् । जसमा ग्रामीण क्षेत्रका किसानले यसलाई स्थानीय बजारमा खुद्रारूपमा बिक्री गर्ने गर्छन् भने केही किसानले थोक व्यापारीमार्फत ठूलो मात्रामा बिक्री गर्ने गरेका छन् । यस खर्बुजा प्रतिकिलो ५० देखि एक सयसम्मको मूल्यमा बिक्री हुन सक्छ ।
विशेषतः गर्मीयाममा ताजा फलका रूपमा यसको बिक्री अत्यधिक हुन्छ । यो बिक्री वितरणको लागि सडक छेउमा ठेला, रेष्टुराँ तथा जुस पसलहरूमा यसको राम्रो खपत हुन्छ । जुन आयस्रोतको रूपमा खर्बुजा खेती ग्रामीणस्तरका निम्न आय हुने किसानहरूका लागि छोटो अवधिमा बढी आम्दानी दिने फलफूल खेती हो । यसमा तराई क्षेत्रका केही अध्ययनअनुसार, एक कठ्ठा जमिनमा खर्बुजाको खेती गर्दा औसत ३० हजार देखि ५० हजारसम्म आम्दानी गर्न सकिन्छ । यसमा पनि राम्रो व्यवस्थापन गरिएमा अझ बढी लाभ लिन सकिन्छ । त्यसरी नै देशका थुप्रै स्थानहरूमा खर्बुजाको व्यावसायिक खेती सफल भएको देखिन्छ । यसमा पनि बारा, चितवन, कैलाली, रुपन्देही, धनुषा, रौतहट, बाँके, कपिलवस्तु, झापा, सुनसरीजस्ता जिल्लाहरूमा किसानले खर्बुजाको व्यावसायिक खेतीबाट लाखौँ रुपैयाँ कमाउन सफल भएका छन् । उदाहरणका लागि चितवनको एक किसानले पाँच कठ्ठा जमिनमा खर्बुजा खेती गरेर तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको विवरणहरू सार्वजनिक भएका छन् । नेपालको तराई भेगमा गर्मी मौसममा फल्ने खर्बुजा एक लोकप्रिय फल हो । यसको मीठो स्वाद र शीतलता प्रदान गर्ने गुणका कारण यसको माग बढ्दो छ । खर्बुजा खेती नेपालमा आय आर्जनको राम्रो स्रोत बन्न सक्छ । यो थोरै लगानी र छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरू यस खेतीतर्फ आकर्षित भएका छन् ।
नेपालमा खर्बुजाको बीउ मुख्यतया माघदेखि फागुन महिनासम्म रोपिन्छ । यसमा नर्सरीमा बीउ रोपेको २० देखि २५ दिनपछि बिरुवालाई तयार गरिएको खेतमा सार्न सकिन्छ । यसरी खेतमा बीउ रोप्दा वा बिरुवा सार्दा निश्चित दूरी कायम गर्नुपर्छ । जसलाई भन्ने नै हो भने दुई बिरुवाको बीचमा ६० देखि ९० सेन्टिमिटर र दुई लाइनको बीचमा एक दशमलव पाँचदेखि दुई मिटरको दूरी राख्नु उपयुक्त हुन्छ । यसले बिरुवालाई फैलिन र राम्रोसँग विकास हुन मद्दत गर्छ । जुन बीउलाई २–३ सेन्टिमिटर गहिराइमा रोप्नुपर्छ । यसैगरी सिँचाइ र मलखाद व्यवस्थापनमा खर्बुजालाई नियमित सिँचाइको आवश्यकता पर्छ, विशेषगरी फूल फुल्ने र फल लाग्ने समयमा माटोको अवस्था र मौसमअनुसार सिँचाइ गर्नुपर्छ । जुन अत्यधिक पानी जम्ने अवस्थाबाट बचाउनुपर्छ । यसलाई थोपा सिँचाइ खर्बुजा खेतीका लागि उत्तम मानिन्छ, किनकि यसले पानीको बचत गर्नुका साथै बिरुवाको जरासम्म सिधै पानी पुर्याउँछ ।
खर्बुजाको राम्रो उत्पादनका लागि सन्तुलित मलखादको प्रयोग आवश्यक छ । यसरी खेत तयार गर्ने समयमा कम्पोस्ट मल वा गोबर मल राम्रोसँग माटोमा मिसाउनुपर्छ । यसमा रासायनिक मलको प्रयोग माटो परीक्षणको आधारमा गर्नुपर्छ । यसको साथसाथै सामान्यतया, नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त मल बिरुवाको वृद्धि र फल विकासका लागि आवश्यक हुन्छ । जसमा मललाई बिरुवाको छेउछाउमा माटोमा मिलाएर दिनुपर्छ । यसको साथै गोडमेल र झारपात नियन्त्रणमा पनि खर्बुजा खेतीमा झारपात नियन्त्रण एक महत्वपूर्ण कार्य हो । यसलाई झारपातले बिरुवालाई आवश्यक पोषक तत्व र पानीमा प्रतिस्पर्धा गर्छ । जसले गर्दा उत्पादनमा कमी आउँछ । यसमा नियमितरूपमा गोडमेल गरेर वा झारनाशक औषधिको प्रयोग गरेर झारपात नियन्त्रण गर्न सकिन्छ । यसै क्रममा प्लास्टिक मल्चिङको प्रयोगले पनि झारपात नियन्त्रण गर्न र माटोको चिस्यान कायम राख्न मद्दत गर्छ । यस खर्बुजामा लाग्ने कीरा तथा रोग नियन्त्रण बेलाबेलामा गर्नुपर्ने हुन्छ । जसमा खर्बुजा खेतीमा विभिन्न प्रकारका कीरा र रोग लाग्न सक्छन् । जसले उत्पादनमा ठूलो क्षति पुर्याउन सक्छन् । फलतः मुख्य कीराहरूमा लाही, पात खन्ने कीरा, फलमा प्वाल पार्ने कीरा आदि पर्छन् । त्यस्तै, ढुसीजन्य रोगहरूजस्तै डाउनी मिल्ड्यु, पाउडरी मिल्ड्यु र एन्थ्राक्नोज पनि खर्बुजामा लाग्न सक्छन् ।
निष्कर्षमा भन्नुपर्दा खर्बुजाको खेतीले छोटो अवधिमा राम्रो आम्दानी दिने सम्भावना भएकाले नेपाली कृषकका लागि यो एक उत्कृष्ट आयस्रोत बन्न सक्छ । अतः राष्ट्रको जलवायु र भौगोलिक अवस्थाले पनि यस खेतीलाई सहज बनाएको छ । यदि उचित प्रविधि, तालिम र सरकारी नीति समर्थन प्राप्त भयो भने खर्बुजाको खेतीले नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । यस्ता मौसमी फलफूल खेतीलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्न सके, देश आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ । मूलतः खर्बुजा खेती देशमा एक राम्रो आम्दानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ । यसका लागि सही प्रविधि, माटोको व्यवस्थापन, सिँचाइ तथा बजार व्यवस्थापन आवश्यक हुन्छ । यसमा पनि भन्ने नै हो भने आधुनिक प्रविधिको सही उपयोग गरेमा किसानले ठूलो आर्थिक लाभ लिन सक्छन् ।