भोजपुर । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।
दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार ४० जना गाउँपालिकाभित्रका छनोटमा परेका उद्यमीलाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण प्रदान गरिएको छ भने छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख सहयोग गरिने बताइएको छ ।
गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि कार्यक्रमबाट प्रसस्त मद्दत पुग्ने बताइन् । कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख लागतमा सञ्चालन गरिने उनले जानकारी दिइन् ।