काठमाडौँ । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।
बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे । उनले सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिएका छन् । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेले बताए ।
प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारहरूको अधिकार, पेसागत हित र नीति निर्माणमा सङ्गठनले अग्रणी भूमिका खेल्दै आएको छ । कार्यक्रममा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूको सहभागिता रहेको थियो ।