फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । कोलोनस्थित जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) द्वारा मंगलबार सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ ।
अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, विश्वव्यापी अनिश्चितता र लगानीको कम स्तर जर्मन अर्थतन्त्रमा मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्य ठूला अर्थतन्त्रहरू यो वर्ष सुधारको बाटोमा रहेको देखिए पनि आईडब्ल्यूको प्रतिवेदनअनुसार जर्मनी भने मन्दीमै रहनेछ । प्रतिवेदनमा अमेरिकी व्यापार नीतिलाई विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो जोखिमका रूपमा औँल्याइएको छ, जसले गर्दा विश्व उत्पादन ०.८ प्रतिशतले घट्न सक्ने पूर्वानुमान गरिएको छ । यो आर्थिक सङ्कटको असर रोजगार बजारमा पनि पर्नेछ । सन् २०२५ को गर्मीयामसम्म बेरोजगारको संख्या ३० लाख पुग्ने अनुमान गरिएको छ ।