काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।
मूल्य समायोजनसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो (पहिलो वर्ग) आसपासको क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ डिपो (दोस्रो वर्ग)क्षेत्रका लागि एक सय ५६ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल डिपो (तेस्रो वर्ग)क्षेत्रका लागि एक सय ५७ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल÷मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४१ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ आठ पैसा र डिजेलमा दुई रुपैयाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।