दोलखा । जिल्लाका स्थानीय तहहरूको बेरुजु १४ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा यहाँका नौ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
दुई नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु बिगु गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम जिरी नगरपालिकाको रहेको छ । विगु गाउँपालिकाको पाँच करोड ४३ लाख ४५ हजार बेरुजु देखिएको छ भने जिरीको सबैभन्दा कम १७ लाख ४२ हजार रुपैयाँ रहेको छ । त्यसैगरी भीमेश्वर नगरपालिकाको बेरुजु तीन करोड १५ लाख दुई हजार रुपैयाँ, कालिञ्चोक गाउँपालिकाको एक करोड ९१ लाख ९४ हजार, गौरीशंकर गाउँपालिकाको बेरुजु दुई करोड नौ लाख ९४ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको तामाकोशी गाउँपालिकाको बेरुजु ८७ लाख १० हजार रुपैयाँ, मेलुङ गाउँपालिकाको बेरुजु ६८ लाख ७७ हजार रुपैयाँ, बैतेश्वर गाउँपालिकाको बेरुजु एक करोड ३३ लाख २४ हजार रुपैयाँ र शैलुङ गाउँपालिकाको बेरुजु एक करोड ५७ लाख ८६ हजार रुपैयाँ रहेको छ । समग्रमा बागमती प्रदेशमा कुल बजेटको एक दशमलव ८२ प्रतिशत रकम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।