काठमाडौं । नेपाली ध्वजावाहक विमान चढेर जापान जाने सपना धेरै पहिलाकै थियो । कार्यव्यस्तताको कारण ढिलै भए पनि त्यो सपना साकार पार्दै अघिल्लो हप्ता नेपाल एयरलाइन्स नै चढेर जापान उत्रिएँ । काठमाडौंको त्रिभुवन विमानस्थलको कोलाहलको वातावरणलाई छल्दै नेपाल एयरलाइन्सको वाइडबडी विमान चढेर जापानमा उड्दै गर्दा जापानको बारेमा जे–जे मनमा सोचेको थिए । जापान ओर्लिसकेपछि अति राम्रो भूमिमा ढिलो अवतरण गरेछु भन्ने महसुस भयो । नेपालबाट यति नजिकको देश, यति विकसित राष्ट्रको भ्रमण गरी अनुभव सँगाल्दा अत्यन्तै हर्षोल्लास भएको छु ।
नेपाल र जापान भौगोलिक अवस्थाले फरक भए पनि दुई देशबीच पारस्परिक सम्बन्ध तथा कूटनीतिक सम्बन्ध सन् १९५६ देखि सुरु भएको पाइन्छ । जापान भ्रमण गर्दा देखिएको मुख्य तथ्य के छ भने जापानी जनता अत्यन्तै लगनशील छन् । विश्वको शक्तिशाली भनिएका देशका सडक किनारमा माग्नेको ताँती नै देखेको मेरो आँखाले जापानमा त्यस्तो देख्न परेन । मागेर खानुलाई जापानीहरूले आफूलाई मरेतुल्य नै सम्झिने रहेछन् । कामलाई नै यहाँका प्रत्येक नागरिकले आफ्नो पहिलो कर्तव्य सम्झिने रहेछन् त्यही कारण यो देशले विश्वमा आफूलाई अब्बलरूपमा उभ्याएको रहेछ । आम नागरिकहरू नै कर्तव्यनिष्ठ र कर्मठ भएपछि देशले विश्वसामु एक विकसित राष्ट्रको रूपमा स्थापित गराएकोमा कुनै शंका रहेन । जापानका जनता अनुशासितभन्दा पनि अति अनुशासितरूपमा चिनिन्छन् । यहाँका मानिसहरू अत्यन्तै कर्तव्यनिष्ठ र परिश्रमी छन् । एक–अर्कालाई सहयोग गर्ने र पाहुनाको सत्कारमा यहाँका मानिसहरू अगाडि छन् । हरेक नागरिकहरूको बातचितको पहिलो शब्द नै अभिवादनबाट सुरु हुन्छ । अर्थात्, पहिला अभिवादन नगरी उनीहरूको मुखबाट अन्य शब्द नै उच्चारण हुँदैन ।
नेपाल र जापानको सम्बन्ध धेरै कुराले जोडिएको पाइन्छ । विभिन्न ठाउँमा बुद्धको मूर्ति हेर्दा हामीलाई गर्वको महसुस हुन्छ । तर हाम्रो सम्बन्ध धर्मले मात्र जोडिएको छैन, बरु धेरै क्षेत्रमा जापानले नेपाललाई सहयोग पनि गरेको छ । पुनर्निर्माणको कामदेखि सडकको स्तरोन्नति र विकासका साथै ‘जाइका’मार्फत धेरै सहयोग गर्दै आएको छ । सडकको कुरा गर्ने हो भने बीपी हाईवेदेखि कोटेश्वर–भक्तपुर सडक समेत जापान सरकारको सहयोगमा बनेका छन् । साथै, अन्य ठाउँको निर्माण तथा पुनर्निर्माण पनि जापानले गरेको सहयोग प्रशस्त छन् । जापानले नेपाललाई गरेको सहयोगको बारेमा धेरै विवरणहरू छन्, त्यो अहिले दिन सम्भव छैन ।
शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रहरूमा गरिएको सहयोगले नेपालमा केही विकास त भएको छ । तर जापानबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने आवश्यकता देखिन्छ । धेरै कुरा मात्र गर्ने, काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न जापानी जनताबाट नेपाली जनताले सिक्न जरुरी छ । यतिका प्रविधिको विकासले जापानमाथि पुग्दा पनि नेपाल पुरानै ढर्रामा चल्नु यो देशको अभिशाप हो कि हामीले गर्न नचाहेको हो, त्योचाहिँ बुझिसक्नु छैन ।
पहिलो भेटमा गरिएको सत्कार, मानिसहरूको इमान्दारिता, कामलाई धर्म ठान्ने प्रवृत्ति तथा बौद्ध धर्मप्रतिको प्रेम, शिष्टाचार र कला तथा संस्कृतिले भरिएको देश र विकासको चरम सीमासम्म पुगेको देशको रूपमा जापानलाई हेर्न सकिन्छ । जापानमा कृषि क्रान्ति नै भएको पाइन्छ, साथै यहाँको कृषि उपकरणको प्रयोगले गरिएको कृषि विकासले त हाम्रो मन कुडु–कुडु खान्छ । कृषि क्षेत्रमा गरिएको लगानी, प्रयोग गरिएको उपकरणले बढेको उत्पादन र प्रयोग गरिएको जमिन देख्दा अत्यन्तै खुसी लाग्छ । ठाउँअनुसारको खेती, चाहिएको प्रविधि, आर्थिक विकास, सामाजिक अभियान, शिक्षा क्षेत्रको विकास, प्रकृतिसँगै गरिएको विकास देख्दा मन प्रफुल्ल हुन्छ ।
जापान विकास हुनुको प्रमुख कारण नागरिकको कर्तव्यनिष्ठताको साथै स्थिर राजनीति र प्रशासनको आफ्नै ढंगले काम गर्ने शैली पनि हो । अरूको काममा दखल नपुर्याउने, आफ्नै काममा रम्ने, धैर्य भई काम गर्ने र जुन काम गरिएको छ । त्यसमा पूर्णरूपले दक्ष भएर काम गर्नु नै हो । अर्को कुरा, उद्योग धन्दा बस्ती–बस्तीमा पुगेको छ, साना साना सहरमा पनि प्रविधिको विकाससँगै बाटोघाटो र आवश्यक पूर्वाधारको विकास देखिनुले पनि यहाँको विकास चरम सीमामा पुगेको देखिन्छ । पहाड खोपेर बनाएको बाटो, ट्रेनको मार्ग, सहरमा बनाइएका गगनचुम्बी भवन र राज्यले गरेको आर्थिक विकासको प्रयासलाई देख्दा विकासोन्मुख राष्ट्रले यसबाट धेरै कुरा सिक्न र अनुशरण गर्नुपर्ने देखिन्छ ।
जापानले गरेका हरेक प्रयासलाई बुझी नेपालजस्ता देशले यसको मोडेललाई नक्कल गरी अघि बढ्नुपर्छ । हामीले गर्ने भनेको राम्रो र असल कामको नक्कल हो । तर, हामी नेपालीले अनावश्यक कामको नक्कल गरेर आफूलाई भुल्याइरहेका छौँ । नेता मात्र होइन युवाशक्ति पनि अहिले काम र पढ्नका लागि जापानमा आउनेहरू धेरै छन् । उनीहरूले पनि जापानको स–सानो राम्रा र असल कामको नक्कल गरेर घर, गाउँ र समाजलाई परिवर्तन गर्ने हो भने नेपालमा धेरै गर्न सकिन्छ । उद्योग स्थापना गर्ने, कृषि गर्ने जग्गा तथा बासस्थान कहाँ बनाउने हो त्यसको पहिले नै निरीक्षण गरी सबै जग्गालाई छुट्याउनु, खेती गर्ने ठाउँमा उद्योग तथा घर बनाउन नपाउने, उद्योग गर्नेलाई राज्यले सम्मान गर्ने तथा प्रोत्साहन दिने, जनतालाई सेवा सुविधा दिनेजस्ता कामले जापानमा मानिसहरू खुसी देखिन्छन् । तर, नेपालमा यति कानुनी उल्झन छन् कि उद्योग गर्नेहरू पाइलापाइलामा हतोत्साही छन् । नेपालमा उद्योग स्थापना गर्ने भन्नासाथ एकहुल राजनीतिक गुण्डा, अर्को हुल गैरराजनीतिक गुण्डा, अर्को हुल वातावरणको नाममा ठगी खाने गुण्डाको झुण्ड एकाएक खडा हुन्छन् । तसर्थ, राज्यले नै उद्योगका लागि कानुनलगायतका सबै वातावरण बनाइदिने र प्रोत्साहन दिने हो भने नेपालमा आत्मनिर्भर हुन समय लाग्दैन । तर, नेता र उच्च तहका कर्मचारीहरूले जापानको बारेमा बुझेका छन्, जापानको कानुन पनि जानेका छन् । तर उनीहरू नेपालमा त्यो राम्रो कुराको नक्कल नै गर्न चाहँदैनन् । उनीहरू कहाँकहाँ राजनीतिक अस्थिरता छ, कहाँ कहाँ नराम्रो छ, त्यहीत्यहीको उदाहरण दिएर जनता भुल्याइरहेका छन् ।
मुख्य कुरा त कामलाई कदर गर्ने, कामलाई माया गर्ने, सरसफाइमा समय दिने, जथाभावी फोहोर नगर्ने, प्रकृति बचाएर विनाश नगरी विकास गर्ने, आफ्नो भाषा, खानालाई प्राथमिकता दिने, यस्तो प्रवृत्तिले जापान विकास भएको देखिन्छ । जापानमा कति ठाउँमा पाँच महिना नै हिउँ पर्दा पनि यहाँ विकास हुन रोकेको छैन । कृषि उपकरण र उन्नत प्रविधिको विकासले आर्थिक विकास हुनुका साथै सामाजिक विकास, मानवस्तर उन्नतिको विकास साथै जीवन अत्यन्तै सहज बनाएको छ । बाटोघाटोका अत्यन्तै विकास, ठुला भवनको विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, टेलिकम्युनिकेसनको साथै छिमेकी राष्ट्रमा समेत आफ्नो शिर ठाडो पार्न सफल भएका छन् ।
आफूलाई चाहिने प्रत्येक सामानको उत्पादन आफैँ निकाल्नु जापानको प्रमुख कार्य हो । हरेक खाने कुरादेखि, कपडा, इलेक्ट्रोनिक सामान, प्रत्येक नागरिकले चढ्ने गाडी र गाडीका सामान र हेभी इक्विपमेन्ट समेत जापान आफैँले उत्पादन गरेर आफूले मात्र प्रयोग गर्दैन विश्वभर पठाउँछ । जापानका नागरिकहरू प्रकृतिप्रेमी पनि पाइए । प्रकृतिलाई माया गरेर जोगाएको देख्दा मन अत्यन्तै प्रफुल्लित हुन्छ । नेपालका हिमाल, जंगल र नदीजस्तै जापानमा पनि पर्वत, समुद्र किनार र चार ऋतुको सुन्दरता पाइन्छ । कतिपय ठाउँमा झण्डै आधा वर्ष नै हिउँ पर्ने भए पनि सहर तथा दुवै ग्रामीण इलाकामा फुलेका फूलहरूले मन आनन्दित बनाउँछन् । त्यसको साथै जंगल र सडक वरिपरि फुलेका सकुरा फूलहरूले अत्यन्तै शोभा दिएका छन् । हाम्रो देशमा पनि यस्तै फूलका रुखहरू हुन्थे र त्यसैगरी सजाउन पाइन्थ्यो भने कति सुन्दर देखिन्थ्यो होला ? नेपाल र जापान दुवै देशमा परम्परागत भेषभूषा, लोकसंगीत र धार्मिक पर्वहरूमा गहिरो आस्था देखिन्छ तर उस्तै देखिए पनि हामी धेरै पछि परेका छौँ भन्ने महसुस जापान पुग्ने जो कोही नागरिकले गरेको हुन्छ र मैले पनि त्यही महसुस गरेँ ।
हाम्रो राज्य व्यवस्था पनि त्यसै छ, जनतामा पनि चेतनाको अभाव छ, पैसा कमाउनेले अरू सबैलाई सानो देख्छ । देशको ढुकुटीमा खरबौँ रुपैयाँ थुप्रिएको छ तर देश विकासमा कछुवाको चाल चलिरहेको छ । हाल नेपाली विद्यार्थीको जापानप्रतिको मोहलाई हामीले गलत अर्थमा नलिएर यसलाई अवसरको रूपमा लिन सकियो भने भविष्यमा यसले देशको विकासमा टेवा पुर्याउँछ । यहाँको सिप, प्रविधि र व्यवहार सबै विद्यार्थीमार्फत भित्र्याउन सकियो भने हाम्रो पनि विकासको ढोका खोल्न मद्दत पुग्ने थियो ।
नेपालीहरूकै सान हुने गरी जापानमा नेपालीहरूले व्यवसाय गरी धेरैजनालाई रोजगारी दिएको पाइयो । जापान नेपाल अन्तर्राष्ट्रिय कम्पनी लिमिटेडको संस्थापक अध्यक्ष प्रदीप सिलवाललगायत सिलवाल ब्रदर्शले गरेको अथक प्रयासको कारण सफल व्यवसायी भएको हेर्दा हामी नेपालीले जापानमा समेत गर्व गर्न लायक छ । यस्तो सफल व्यवसायीलाई नेपालमा समेत व्यवसाय गर्ने प्रेरणा दिन सकिए देशमा विदेशी पैसा र बुद्धिलाई भित्र्याउन सकिन्थ्यो । तर, त्यसका लागि राज्य सञ्चालकहरूले कानुनी प्रबन्ध गर्नुपर्छ ।
नेपालजस्तै जापानमा पनि कृषि धेरै हुने देशमा पर्दा पनि यो देशमा गरिएको कृषिमा लगानी देख्दा आश्चर्यचकित भइन्छ । हरेक कृषियोग्य जमिनमा नहरमार्फत लगाइएको पानी र थालजस्तो बनाइएको जमिन देख्दा मन लोभिन्छ, त्यसैले जापानले कृषि क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोग गरेको छ भने नेपाली समाजमा भने कृषि परम्परागतरूपमा गरिएकाले यो जीवन निर्वाहको माध्यम मात्र बनेको छ । यसको आधारमा तुलना गर्ने हो भने दुवै देशबीच सहकार्यको ठूलो सम्भावना देखिन्छ, त्यसैले यसको पहल सरकारीस्तरबाटै हुनु अत्यन्त जरुरी छ ।
जापानको कतिपय ठाउँ पहाडले ढाकिएको हुनाले यहाँ पनि पहिरोको उत्तिकै जोखिम छ । कतिपय ठाउँमा गत वर्षको पहिरोले ट्रेनको मार्ग तथा सडक ठूलो मात्रामा विनाश गरेको देखियो । तर यसको निराकरण गर्ने प्रयास सरकारीस्तरबाट अत्यन्तै गम्भीरताका साथ गरिएको देखियो । तर, नेपालमा त्यही जापानले बनाइदिएको बीपी राजमार्गको आठ÷दश किलोमिटर सडकको पुनःनिर्माण गर्ने टेन्डर गर्न नै छ महिनाभन्दा बढी लाग्यो । अब ठेकेदार छनौट भएर सम्झौता हुँदैमा बर्खा लागिसक्छ निर्माण सुरु कहिले हुने त अझै भन्न सकिने अवस्था छैन ।
जापानमा बारम्बार भूकम्प, सुनामी र ज्वालामुखी विस्फोटजस्ता प्रकोपहरू आउँछन् । तर यहाँ त्यसअनुसारको घरहरूको निर्माण गरिएकोले यसबाट अत्यन्तै न्यून क्षति हुने गरेको छ । नेपालका पहाडी तथा ग्रामीण र तराई क्षेत्रहरूमा पनि आवश्यकभन्दा धेरै घरहरूको निर्माण भएको छ । तर यहाँको जस्तो तरिकाले घरको निर्माण गर्ने हो भने घर पनि राम्रो देखिनुका साथै कम खर्चमा बन्ने र वातावरणमैत्री समेत भई भूकम्पले पनि बिगार्न सक्ने थिएन ।
जापानले अहिंसा र शान्तिको मार्ग अँगालेको छ । जापानले दोस्रो विश्वयुद्धपछिको अनुभवबाट शिक्षा लिँदै शान्तिपूर्ण नीति अवलम्बन गरेको छ । मानिसहरू पनि सभ्य र शान्त देखिन्छन् । सडक सबैको साझा हो भन्ने बुझाइ छ, होहल्ला गरिँदैन, सडकमा हर्न बजाएको सुनिँदैन । चोरीको समस्या छैन, कानुनलाई सबैले मानेर काम गर्छन्, झगडा गरेको देखिँदैन । यसले समाज सभ्य र शान्त देखिन्छ । मेरो पहिलो र छोटो भ्रमणले के देखाएको छ भने देश विकास गर्न एउटा अठोट चाहिन्छ, असल नेतृत्व चाहिन्छ, कर्तव्यनिष्ठ नागरिक र असल सरकार हुनुपर्छ ।