काठमाडौं । ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी हुने भएको छ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकौँ आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गरेको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौंमा हुन लागेको हो ।
प्रदर्शनी काठमाडौं बबरमहलमा रहेको नेपाल कला परिषद्मा शुक्रबार आयोजना हुनेछ । यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्जः मुभिङ इमेज साउथ एसिया कार्यक्रमअन्तर्गत आयोजना गरेका हुन् । नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्जः मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो ।