काठमाडौं ।जिम्मेवारी सम्हाल्दाको प्रतिबद्धता पूरा नगरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टमाथि स्पष्टीकरण सोधिएको छ । दुई साताअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनको नाममा स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जनाएको छ । भट्टमाथि कर्मचारी, व्यवसायी र सरोकारवाला निकायले समेत अनियमितताको आरोप लगाउन थालेपछि स्पष्टीकरण सोधेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । तर उनले दुई सातासम्म पनि स्पष्टीकरण पत्र नबुझाएपछि उनलाई मन्त्रालयमै बोलाएर सोधपुछ गरिएको थियो ।
अख्तियारमा उजुरी
उता, कार्यकारी निर्देशक भट्टले बबरमहलको निर्माणाधीन केन्द्रीय कार्यालय भवन बनाउने बेलामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय पूर्ण सुसज्जित भवन निर्माणसम्बन्धी टेन्डर प्रक्रियामा ठूलो अनियमितता भएको भन्दै छानबिन गर्न माग गरिएको छ ।
गत चैत ३ गते अख्तियारको केन्द्रीय कार्यालय टंगालमा नं.सि ०५३८८५ मा उजुरी दर्ता भएको छ । उजुरीकर्ताले टेन्डर दस्तावेजमा पहिले नै समावेश गरिएका सामग्रीहरूलाई पुनः ‘भेरिएसन’को नाममा बिलमा दोहो¥याएर करिब ५० लाख रुपैयाँबराबरको अतिरिक्त आर्थिक भार थपिएको आरोप लगाएका छन् ।
उजुरीमा निगमका तत्कालीन निर्देशकद्वय दिपक बराल, विनीतमणि उपाध्याय, राम बञ्जारा, नवविनोद पोखरेल तथा कार्यकारी निर्देशक चण्डिका भट्ट अनियमिततामा संलग्न भएको आरोप लगाउँदै कडा छानबिन र कारबाहीको माग गरिएको छ । उजुरीकर्ताले टेन्डर र बिड डकुमेन्ट झिकाएर सत्यतथ्य छानबिन गरी संलग्न सबैलाई कारबाही गर्न आग्रह गरेका छन् । सो उजुरीमाथि अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।
नाफा देखाए पनि पारदर्शितामा प्रश्न
आर्थिक वर्ष २०८०÷८१ मा निगमले तीन खर्ब ५६ अर्बबराबरको इन्धन आयात गरी तीन खर्ब ६४ अर्बबराबरको बिक्री गरेको तथा नौ अर्ब ५५ करोड नाफा कमाएको विवरण छ । तर यो नाफा व्यवस्थापन क्षमताको परिणाम नभई उपभोक्तामाथि मूल्यभार थोपरेर ल्याइएको भन्ने आरोप सार्वजनिकरूपमा उठेको छ ।
निगमको पारदर्शिता, कार्यक्षमता र प्रभावकारी नेतृत्व अभावका कारण मन्त्रालयको विश्वास गुमाएका कार्यकारी निर्देशक भट्टमाथि छानबिन, कारबाही र नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र भएको छ । अख्तियारमा दर्ता भएको गम्भीर आर्थिक अनियमितताको उजुरी र मन्त्रालयको आन्तरिक मूल्याङ्कनले उनलाई बर्खास्त गरिने सङ्केत स्पष्ट देखिएको छ ।