काठमाडौं । गोरखाको कालिका मन्दिरमा राजा ज्ञानेन्द्रको प्रतीक भन्दै राँगो काट्ने खुँडा गाडेर काठमाडौं फर्किएका पूर्वप्राज्ञ जगमान गुरुङले अपदस्थ राजा ज्ञानेन्द्रको गद्दी चढ्ने साइत जुराएका छन् । उनका अनुसार आउँदो जेठ ११ गते राजनीतिक दलहरूसँग वार्ता गर्ने र जेठ १५ गते गद्दी चढ्ने साइत परेको छ ।
उनी भन्छन्, ‘जेठ ११ गतेका लागि राजाले खासगरी त्यसबेला गणतन्त्रका लागि आन्दोलन गरेका राजनीतिक दलहरू सम्मिलित बैठक बोलाउनुपर्छ । त्यसमा पहिलेको सम्झौता देखाउँदै आफूलाई गद्दी चढाउन सहयोग माग्नुपर्छ ।
त्यो बैठकबाट गद्दी चढ्ने सहमति जुटेन भने राजाले १३ गते देशभरिबाट जनतालाई काठामाडौं आउन आह्वान गनुपर्छ । यस्तो आह्वान भएपछि १४ गते देशैभरिबाट जनता काठमाडौं आउनेछन् र तिनले राजालाई गद्दी चढाउनेछन् । कुरो सकियो । जुनबेला यता नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिको बृहत् बैठक बसेर जेठ १५ बाट हुने जनआन्दोलन सफल पार्ने सन्दर्भका विभिन्न निर्णयहरू गरिहेको थियो ठीक यसैबेला उता जगमान गुरुङ भने जेठ १५मै राजा गद्दीनसिन दाबी गरिहेका थियो । यसै कारण उनी नवराजको बृहत् बैठकमा उपस्थित भएनन् ।
सुवेदी चैत्र १५को राजावादीको तीनकुने ताण्डव भएपछि नजरबन्दमा पर्दा जगमान उक्त समितिको कार्यवाहक अध्यक्ष थिए । अध्यक्ष खोसिएपछि उनी यो समूहमा उपस्थित समेत हुन छाडेका छन् । वैशाख २५मा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिको बृहत् बैठक बसेर जेठ १५बाट राजसंस्था पुनस्र्थापना नहोउन्जेल देशभरि जनआन्दोलन परिचालन गर्ने भनेर घोषणा भयो । यसबेला आफूलाई राजावादी भनेर चिनाउने दल र समूह सबैको उपस्थिति थियो । तर जगमान यो कार्यक्रममा पनि थिएनन् ।
उनले मन्दिरमा राजा ज्ञानेन्द्रको प्रतीक भनेर खुँडा गाडेको दिन पनि यही हो । विचारले पनि नवराज र जगमान अलगअलग भएका देखिन्छ । जुन दिन नवराज आफ्नो १४बँुदे जनआन्दोलन घोषणामा आन्दोलन शान्तिपूर्ण हुने भनेर सुनाइरहेका थिए त्यसै दिन जगमान भने राजाको प्रतीक भन्दै खुँडा बोकिरहेका थिए ।
नवराजको घोषणापत्रको बुँदा नं. ६मा आन्दोलनको स्वरूपबारे भनिरहेका थिए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ । हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन । निरङ्कुशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यावहारिकरूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हुनेछ ।’
ठीक यही दिन र यही घडीमा उता जगमान गोरखाको कालिका मन्दिरमा केही भक्त महिला र राजावादीहरूलाई वरिपरि राखेर राजा ज्ञानेन्द्रको प्रतीक भन्दै ठूला–ठूला पशु काटमार गर्ने खुँडा उठाइरहेका थिए । यो कुरा सामाजिक सञ्जालमा यसरी आयो– आफूलाई राजावादी आन्दोलनको सक्रियमध्ये एक भनेर चिनाउने गुरुङले जगमानलाई सोधेका छन्, ‘बाजेले खुँडा देखाएर के गर्न खोजेको हो ? यस्तो प्रतीकले राजसंस्था फर्किन्छ र ?’विष्ट थरका अर्का राजावादीले पनि प्रतिक्रियामा लेखेका छन्, ‘अलि राम्रो प्रतीक नभेटिएर खुँडा राखेको हो ? यसले कस्तो सन्देश दिन्छ, प्राज्ञजस्तो मान्छेले विचार गर्नुपर्दैन ? यो तरिकाले त आन्दोलन झन् कमजोर हुन्छ ।’
बलायर थरकी एक महिलाको पोस्ट भने भिन्न छ । उनी लेख्छिन्, ‘तीनकुने हत्याकाण्डबाट ज्ञानेन्द्र हिंसालभर हुन् भन्ने प्रमाणित भइसक्यो, मान्छेको प्रवृत्तिअनुसार सुहाउँदो प्रतीक छनोट गर्नुभएकोमा बाजेलाई धेरै–धेरै धन्यवाद ।’
जगमानको राज–जोखाना
गुरुङले पटक–पटक नै सार्वजनिक कार्यक्रममा यही जेठ १५ गते नै गणतन्त्र फाल्ने र राजालाई सिंहासनमा राख्ने घोषणा गर्दै आएका थिए । उनको दाबी कस्तोसम्म थियो भने यही जेठ १५ गते सिंहासनमा चढेनन् भने म सबै धर्मशास्त्र च्यातिदिन्छु ।
अहिलेको आन्दोलनकै बारेमा पनि उनले भनेका छन्, ‘राजा फर्काउन आन्दोलन गरिराख्नै पर्दैन । सडकमा ढुङ्गा हान्नैपर्दैन । जेठ १५मै शान्तिपूर्ण तरिकाले श्री ५ लाई सिंहासनमा आसीन गराउन सकिन्छ ।’
विभिन्न माध्यममा उनले यसरी बताउने गरेका छन्
–जेठ ११ गते श्री ५ले ७ दल (तत्कालीन)लाई बोलाउनुपर्छ । सात दल र श्री ५ ज्ञानेन्द्रबीच भएको सहमति देखाउने, टेबल टक गर्ने । यो सहमति के हो र अहिले नेपालको अवस्था के छ भनेर कुरा राख्ने । दलहरू कुरा गर्न आए भने आए, नत्र भने श्री ५ले नै देशभरका जनतालाई आह्वान गरेर जेठ १५मा काठमाडौं बोलाउने । मौसुफबाट म अगाडि बढेँ, साथ देऊ भनिबक्सेकै हो । त्यसैले अब श्री ५ नै अगाडि हाइबक्सिनु प¥यो । त्यस्तो आह्वान गरेपछि जनता आउँछन् र शान्तिपूर्णरूपमा नारायणहिटी लगेर गद्दीमा राख्छन् । कुनै तनाव नै छैन ।
–२०६२÷६३ सालको जनआन्दोलनपछि राजा र तत्कालीन सात दलबीच लिखित सहमति भएको थियो । त्यो सहमतिमा २०४७ सालको संविधानलाई टेकेर अगाडि बढ्ने, संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य मान्नेलगायत बुँदाहरू छन् ।
–राजासित पनि छ, सात दलसित पनि होला । कुरा कसो हो भने तास खेल्दाखेरि तुरुप त लास्टमा पछार्ने हो नि ! पहिले नै मसित यस्तो छ भनेर देखाइहाल्ने होइन । सरकारले पहिले नै अन्तर्वार्तामा यो सहमति भएको थियो भनेर सङ्केत पनि गरिबक्सेको छ । यदि जेठ ११ गते राजाले आह्वान गर्दा दलहरू आएनन् भने जनतालाई त्यो सहमति देखाउनुपर्छ । अनि उहाँ सिधै नारायणहिटी जानुपर्छ ।
–राजाले जेठ १३ गते दलहरूसँग संवादमा यस्तो भयो भनेर जनतालाई सुसूचित गरिबक्सन्छ । दलहरू आएनन् भने सहमति यस्तो थियो भनेर देखाइबक्सन्छ र जनतालाई काठमाडौं आउन आह्वान गरिबक्सन्छ । त्यसपछि जनता आउँछन् ।
–जनता खुशी भयो भने जनार्दन हुन्छ, जनता रुष्ट भए भने नरसिंह हुन्छ । नरलाई जनार्दन बनाउने मेसोमेलो मिलाउन राजा हुने मान्छेले पनि रङ्गढङ्ग पु¥याउनु प¥यो नि ! श्री ५ ज्ञानेन्द्रले ‘जनताको सदिच्छाअनुसार राजा हुन्छु, कुनै पनि नेपालीलाई घाउचोट नलागोस्’ भनिबक्सेको छ । मैले त सजिलो ठान्या छु ।