जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार आठ सय ७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।
कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरूलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो । कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । कार्यालय प्रमुख सुनील यादवका अनुसार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो ।
कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन दुई सय ७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायिक फर्मको अनुगमन चार सय ९९ पटक गरेको थियो ।