काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि आयोजना गरिएको उक्त कार्यक्रम भव्यरूपमा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल बीमा प्राधिकरणकी प्रतिनिधि श्रीमती जमुना अर्याल (आचार्य) साथै विशेष अतिथिमा बुटवलका वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंको सहभागी रहेको थियो । सभामा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै कम्पनीको आर्थिक प्रगति, आगामी योजनाहरू तथा ग्राहक सेवामा सुधारका लागि लिइएका रणनीतिहरू प्रस्तुत गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले बीमा पहुँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने उद्देश्य र देशभर अझै नयाँ शाखाहरू विस्तार गर्दै कम्पनीको व्यापार र व्यवसायलाई अझै बढाउने योजना प्रस्तुत गरे ।
कार्यक्रमको एक विशेष खण्डमा, लुम्बिनी प्रदेश प्रमुख श्रीमती जमुना अर्याल (आचार्य), ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेल र वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले संयुक्तरूपमा हरियाली यातायात प्रालि (बुटवल), मेच्यधाम यातायात प्रालि (मणिग्राम) र सत्यवती यातायात प्रालि (देवीनगर)लाई एक सय थान रिफ्लेक्टिभ ज्याकेट वितरण गरे ।
उक्त कार्यक्रममा सेयरधनीहरू, कम्पनीका विभिन्न शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले संस्थाको पारदर्शिता, व्यावसायिक प्रगति तथा सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कम्पनीले देशभर उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनहरूमा बीमित वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।