काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्डमा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्युएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ । बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागतरूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिबद्धतालाई स्वतन्त्ररूपमा प्रमाणित गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय दुई शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।