काठमाडौं । एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गरेको छ । कम्पनीले अब आफ्ना ग्राहकहरूलाई प्रत्येक शनिबार सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको हो ।
यो अफर शनिबारबाट सुरु भएको र जेठ ३१ गते शनिबारसम्म सञ्चालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफरअन्तर्गत ग्राहकहरूले विभिन्न चार वटा प्याक किन्दाविना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड युट्युब पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध हुने छैन । फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी चार वटा प्याकहरू समावेश रहेका छन् ।
यस अफरअन्तर्गत ग्राहकले करसहित एक सय ५० रुपैयाँमा डबल मजा प्याक लिँदा सात दिन समयावधि रहेको ७ जीबी डेटा पाउँछन् । यसबाहेक एक दिन अर्थात् २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन् । त्यसैगरी करसहित दुई सय ९९ रुपैयाँ पर्ने डेटा रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको सात जीबी डेटाका साथै बोनसका रूपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकले औधी रुचाएका दुई होम एन्ड अवे रिन्युअल प्याकहरू पनि यो अफरमा समावेश छन् । पाँच सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को, सात सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् । साथै, २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन् ।