काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले मन्त्रिपरिषद्बाट नियुक्त हुँदाका बखत पेश गरेको कागजातमाथि प्रश्न उठेको छ । उनले अध्यक्ष नियुक्ति हुनका लागि पेश गरेको अनुभव प्रमाणपत्र, सोही समयमा चाणक्य मिडिया प्रालिको तर्फबाट सूचना विभागमा पेश गरेको नियुक्ति पत्र र सिफारिसमा फरक–फरक काम गर्ने जिम्मेवारी पाएको आर्थिक दैनिकलाई प्राप्त अनुभवको प्रमाणपत्रले खुलाएको हो ।
चाणक्य मिडिया प्रालिले प्राधिकरणमा अध्यक्ष बन्नका लागि ओझालाई २२ जनवरी २०२५ मा दिएको अनुभवको प्रमाणपत्रमा सिनियर म्यानेजर पदमा ओझा १६ डिसेम्बर २०२१ देखि हालसम्म कार्यरत रहेको भनेको छ । सोही समयमा सूचना तथा प्रसारण विभागमा भने संवाददाताको रूपमा कार्यरत रहेको भनी नियुक्ति र सिफारिस–पत्र बुझाएको पाइएसँगै ओझाको अनुभवको प्रमाणपत्र कुन सक्कली, कुन नक्कली भन्ने प्रश्न खडा भएको हो ।
बीमा ऐनअनुसार स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवी व्यक्तिलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट आवश्यक प्रक्रिया पूरा गरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गर्ने व्यवस्था छ । ओझा २०७२ सालदेखि विभिन्न सञ्चार माध्यमहरूमा संवाददाताको पदमा कार्यरत थिए । संवाददाताका लागि छापाखाना तथा प्रकाशन नियमावली २०४९ को नियम १५ उपनियम २ बमोजिमको न्यूनतम योग्यता एसएलसी उत्तीर्ण भए पुग्छ ।
सोही व्यवस्थाबमोजिम ओझा चाणक्य मिडिया प्रालिमा २०७८ साल पुस १ गतेदेखि २०८१ माघ ९ गतेसम्म संवाददाता पदमा नियुक्ति लिई कार्यरत थिए । तर, सोही मितिमा उनले सिनियर म्यानेजर र विशेष संवाददाता पदमा कार्यरत रहेको भनी अनुभव प्रमाणपत्र तयार गरी बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा पेश गरेका थिए । सोही अनुभवको आधारमा उनले नियुक्ति पाएका हुन् ।
त्यस्तै, ओझाले नेपाल प्रहरीको लागि हतियार आपूर्ति गर्ने ट्रिनिटी एक्जिम प्रालिमा १८ अक्टोबर २०१९ देखि १६ नोभेम्बर २०२१ सम्म सिनियर म्यानेजर पदमा काम गरेको भनी अनुभवको प्रमाणपत्र बनाई पेस गरेका छन् । २०८१ फागुन १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझाले सूचना विभागको तथ्याङ्कअनुसार श्रमजीवी पत्रकार ऐन २०५१ बमोजिमको संवाददाता पदमा नियुक्ति लिई २०७२ देखि हिमालखबर, देशसञ्चार हुँदै क्लिकमान्डुसम्म काम गरेको पाइएको छ ।
चाणक्य मिडिया प्रालिले ओझालाई २०८० वैशाख २७ गते दिएको नियुक्ति पत्रमा पद संवाददाता भनी उल्लेख छ । श्रमजीवी पत्रकार ऐन २०५१ को दफा २ को ‘घ’बमोजिम कुनै पनि सञ्चार प्रतिष्ठानको व्यवस्थापन र प्रशासनिक काम गर्नेबाहेकको समाचारसम्बन्धी काम मात्र गर्ने व्यक्तिलाई श्रमजीवी पत्रकारको रूपमा परिभाषित गरेको छ । सूचना विभागबाट जारी गरिएको २०४३५ नम्बरको प्रेस पास लिएका ओझाले २०८१ असार मसान्तसम्म नवीकरण गराएका छन् । उनले अन्तिम पटक २०८० माघ २७ गते सूचना विभागमा पुगेर पास नवीकरण गराएको देखिन्छ । दुईथरी अनुभवको कागजातको विषयमा जिज्ञासा राख्न आर्थिक दैनिकले प्राधिकरणका अध्यक्ष ओझालाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।