काठमाडौं । ज्येष्ठ नागरिकहरूको सहयोगका लागि पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनले सम्मानजनक वृद्धावस्थाको प्रवर्द्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता गरेका छन् ।
इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार, इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडले आफ्ना कुल नाफाको दुई प्रतिशत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ । साथै, दुवै संस्थाले ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू र ‘गरिमामय वृद्ध अवस्था’ प्रवर्द्धनका लागि फन्डरेजिङ ट्रेकसमेत संयुक्तरूपमा आयोजना गर्नेछन् ।
यस साझेदारीले संयुक्त जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि र ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई पनि समेट्नेछ ।