काठमाडौ । काठमाडौं उपत्यकाका बासिन्दाहरूको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाजस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ । तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ ।
छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ । यी समस्याहरूलाई सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलमार्फत भूमिगत पानीलाई पुनर्भरण गर्न, सहरी पानी व्यवस्थापनमा सार्वजनिक/निजी/साझेदारी (पीपीपी) मोडेल प्रदर्शन गर्दै बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयुडी)ले काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ । यस परियोजनाले वडा २५ मा ६ र वडा २२ मा ५ पुनर्भरण प्रणालीहरू स्थापना गरेको छ । प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ । कुवाको औसत गहिराई २० फिट रहेको छ ।
परियोजना सम्पन्न गरी सीआईयुडी र बीएनएलले संयुक्तरूपमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरू र स्थानीय समूहहरूको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षहरूलाई भूमिगत पानी पुनर्भरण प्रणालीहरू हस्तान्तरण समेत गरेका छन् । परियोजना हस्तान्तरण कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा पानी रिचार्जको आवश्यकता भएकाले यहाँका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सीआईयुडी र बोटलर्स नेपालसँग काम गरिरहेको बताइन् ।
यी प्रणालीहरूले वार्षिकरूपमा लगभग आठ हजार छ सय २४ किलोलिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र त्यसद्वारा हस्तक्षेप क्षेत्रको भूमिगत पानीको तहलाई स्थिर पार्ने अनुमान गरिएको छ । परियोजना वडा २२ र २५ का दुवै सदस्यहरूसँग निकट सहकार्यमा कार्यान्वयन गरिएको थियो । साथै, संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वरजस्ता विभिन्न सुधार समूह, केल अचाजु गुठी र मछिन्द्र क्लबजस्ता महत्वपूर्ण सामुदायिक समूहले पनि परियोजनामा आफ्नो महत्वपूर्ण योगदान गरेका थिए ।
काठमाडौं महानगरको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसीईपी, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल आर्मी ब्यारेक र काठमाडौं महानगरपालिकाको वडा १६ को बालाजु पार्कमा यो परियोजना सफल कार्यान्वयन भइरहेको छ । बोटलर्स नेपाल लिमिटेड, सीआईयुडी र वाटरएड नेपालको त्रिपक्षीय सहकार्यले यी परियोजनाहरूमार्फत वार्षिकरूपमा लगभग एक लाख ५६ हजार किलोलिटर भूमिगत पानी पुनर्भरण गरिरहेको छ ।