काठमाडौं । एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ ।
जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवद्र्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्नेछ । जीएसएमएसँगको सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरूको पहुँच र यसका अवसरहरूबाट पाइने लाभ समानरूपमा सुनिश्चित गराउनुपर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने जनाइएको छ । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।
यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउँछ । यस्ता कार्यहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सधैँअन योजनाअन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरू, पूर्णरूपमा अपाङ्गतामैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्यलगायतका पहलहरू समावेश रहेका छन् । जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा एनसेलले समावेशीकरण, दिगोपन र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यहरूमा केन्द्रित रहँदै आएको छ । अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्नेजस्ता कार्यहरू गर्दै जानेछ ।
एनसेलले एक्सेसिबिलिटी अर्थात् पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रियरूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ । यस सहकार्यसँगै एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरू माझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ, जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरूको सशक्तीकरणमा मद्दत प्रदान गर्नेछ ।