काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न गर्दै नियुक्ति बदरको मागदाबीसहित परेको रिटमा कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।
सरकारले ओझालाई गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा ओझाविरुद्ध रिट दायर गरेकी थिइन् ।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दक्खल राख्ने ३३ वर्षीय ओझा प्राधिकरणको अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छो अध्यक्ष हुन् ।