काठमाडौं । नेपाल टेलिकमको आम्दानी र मुनाफा दुवैमा कमी आएको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आम्दानी र नाफामा कमी आएको देखिएको हो ।
कम्पनीको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यो समीक्षा अवधिको तुलनामा १६ करोड ३६ लाख रुपैयाँले कमी हो । यस्तै, कम्पनीको तेस्रो त्रैमासिकसम्म कुल आयमा पनि आठ दशमलव ८९ प्रतिशतले कमी आएको छ । सो अवधिसम्म कम्पनीको कुल आय २८ अर्व ४३ करोड रुपैयाँ रहेको छ । उक्त रकम समीक्षा अवधिमा ३१ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीको खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले कमी आएको छ । तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । उक्त रकम गत आवमा पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार रहेको थियो । समीक्षा अवधिको तुलनामा दुई अर्ब ६९ करोड अर्थात् ४८ दशमलव ६७ प्रतिशतले खुद नाफामा कमी आएको हो । यस्तै, तेस्रो त्रैमासमा व्याज, कर, मूल्यह्रास र परिशोधनअघिको नाफा १४ अर्ब १९ करोड रुपैयाँ रहेको छ । उक्त रकम समीक्षा अवधिमा १३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । जुन समीक्षा अवधिको तुलनामा पाँच दशमलव ८९ प्रतिशतले बढी हो । यस्तै, करअघिको नाफा आठ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । गत आवमा उक्त नाफा सात अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । जुन समीक्षा अवधिको तुलनामा एक अर्ब २४ करोड रुपैयाँ अर्थात् १६ दशमलव ८२ प्रतिशतले बढी हो ।
यस्तै, कम्पनीको प्रति सेयर आम्दानी २१ दशमलव पाँच रहेको छ । गत आवको तुलनामा यस आवमा राजस्व तथा खुद नाफामा परिवर्तन हुनुको प्रमुख कारणहरू ओटीटी सेवाहरूको व्यापक प्रयोग, कम्पनीको अनुमति पत्र नवीकरण, कर्मचारीहरूको निवृत्तिभरणको व्यवस्था, लगानीमा भएको कमी तथा व्याजदर क्रमिकरूपमा घट्नुरहेका छन् । यस्तै, विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार, सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तनलगायतका कारणले पनि आम्दानी र मुनाफामा असर देखिएको कम्पनीले जनाएको छ ।