काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले व्यवस्थापकीय क्षमता विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । २०८२ वैशाख ३१ देखि जेठ २ गतेसम्म कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब एक सय जनाको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरूकै मेहनतको परिणाम भएकाले संस्थाका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवादसहित बधाई दिँदै नेपालमा लघुवित्त संस्थाहरूले प्रभावकारीरूपमा आफ्ना सेवाहरू प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिँदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानी आफ्नो सेवाहरू उच्च मनोबलका साथ निरन्तररूपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए । संस्थाले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा जाने बताउँदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरूलाई यस संस्थाबाट तालिमहरू प्रदान गर्दै जाने योजना रहेको बताए ।
तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष विजयमान नकर्मी तथा सञ्चालकहरूले सहभागीहरूलाई आवश्यक मार्गनिर्देशनसहित तालिमको विषयवस्तुहरूमा सिकेका कुराहरूको जानकारी लिई सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । सञ्चालक समितिका अध्यक्ष विजयमान नकर्मीले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गर्न सफल शाखा कार्यालयहरूलाई पुरस्कृत गरेका थिए । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नति र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखापरेका चुनौतीहरूबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न तथा तालिममा प्राप्त भएका ज्ञानहरू आफुमातहतका कर्मचारीलाई सिकाउने र व्यवहारमा उतार्नका लागि निर्देशन दिँदै आगामी दिनको लागि शुभकामना व्यक्त गरेका थिए ।